मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रातिदेखि अविरल वर्षाले रुपन्देही, पाल्पा, चितवन, सिन्धुपाल्चोक र काठमाण्डौमा बाढी

रातिदेखि अविरल वर्षाले रुपन्देही, पाल्पा, चितवन, सिन्धुपाल्चोक र काठमाण्डौमा बाढी

न्यूजस्टोरी

काठमाडौं, ४ साउन । उपत्यकासहित देशका धेरै ठाउँमा गएरातिदेखि पानी परिरहेको छ । पछिल्लो ६ घण्टामा सबैभन्दा धेरै पाल्पाको बल्याढ्याङगढी र सिन्धुपाल्चोकको गोब्रेमा एक सय मिलिमिटरभन्दा धेरै पानी परेको छ । चितवन, लमजुङ, मकवानपुर लगायतका ठाउँमा पनि ठूलो वर्षा भएको छ । लगातार र ठूलो पानी परेका ठाउँमा बाढी आएको छ ।

सिन्धुपाल्चोकको मेलम्ची नदी नाकोटेको जलमापन केन्द्रमा जल सतहले सतर्कता तह पार गरेको र मेलम्ची घ्याङ, तार्के घ्याङ, बोल्दे, ढुङ्गे, भोटाङ, मानेखर्क, धाप, बाँसखर्क, दुवाचौर, गोब्रे, नवलपुर, बाउनेपाटी क्षेत्र भइ बहने स–साना नदीहरूमा आकस्मिक बाढीको जोखिम र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम भएकाले तटीय क्षेत्रमा बस्नेहरुलाई आज दिउँसोसम्म सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

यस्तै काठमाण्डौमा विष्णुमती नदीको गोङ्गबु जलमापन केन्द्रमा जलसतहले खतरा तह पार गरेको र बढ्दो क्रममा रहेकाले नदीको तटीय क्षेत्रहरूमा बस्नेहरुलाई सतर्कता अपनाउन भनिएको छ । रुपन्देहीको तिनाउ नदीको बुटवल जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो रहेकाले तिनाउ नदीका तटीय क्षेत्र र आसपास डुबान हुन सक्ने होचा ठाउँहरुमा पनि सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

चितवनको देवघाट, शिलिङ्गे, गोविन्दबस्ती र आसपास वर्षामापन केन्द्रमा तथा पाल्पाको बलड्याङगढीमा मध्यमदेखि ठूलो वर्षा भएकाले ती क्षेत्र भई बहने ससाना नदीहरुमा आकस्मिक बहावको जोखिम रहेकाले सतर्कता अपनाउन भनिएको छ ।

आज बाग्मती र सुदूरपश्चिम प्रदेशका एक, दुई ठाउँमा ठूलो पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।