मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सिंहदरबार परिसरमा चहलपहल बढ्दै

सिंहदरबार परिसरमा चहलपहल बढ्दै

न्यूजस्टोरी

काठमाडौं, २ साउन । देशको सबैभन्दा ठूलो प्रशासनिक भवन रहेको सिंहदरबार परिसरमा चहल पहल बढेको छ । सोमवार नयाँ सरकार गठन भएसँगै अघि पछिको तुलनामा चहलपहल निक्कै बढेको छ ।

प्रमुख दुई ठूला दल कांग्रेस र एमालेबीचको सहकार्यमा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा नयाँ सरकार गठन भएसँगै पहिलो दिन सोमवार नै मन्त्रिपरिषद्ले पूर्णता पायो । लगत्तै मन्त्रीहरुलाई बधाई दिन सिंहदरबार पुग्नेको लर्को लाग्न थालेको हो । सिंहदरबार परिसरमा हिजो दिनभर नै भीड थियो ।

नयाँ मन्त्रीहरुलाई शुभकामना दिने र बधाई ज्ञापन गर्न काठमाण्डौ उपत्यकामा रहेका आफन्तजन मात्र नभई टाढा–टाढाका जिल्लाबाट समेत नेता तथा कार्यकर्ता सिंहदरबार आइपुगेका छन् । हिजो मन्त्रालयमा पुगेर फर्किने र जानेहरुको भीडले सिंहदरबारको रौनक नै बदलेको देखिन्थ्यो ।

अरु बेला भन्दा यसपटक बढी नै चहलपल देखिएको मन्त्रालयका कर्मचारीहरु बताउँछन् । कतिपय नेता तथा कार्यकर्ताले समूहमा जिल्लाबाट गाडी नै रिजर्भ गरी मन्त्रीको नयाँ जिम्मेवारी प्राप्त गर्नुभएका आफ्ना नेतालाई शुभकामना दिन आएका थिए । शुभकामना तथा बधाई ज्ञापन गर्नेको भीडसँगै धेरैजसो मन्त्रीहरुलाई हिजो दिनभर माला–खादा लगाउन भ्याइनभ्याइ भयो ।

सबैजसो मन्त्रालयको प्रवेशद्वारमा शुभकामना दिनेको ओहरदोहर बाक्लो देखिन्थ्यो । सिंहदरबार परिसरमा प्रवेश अनुमति ९पास० लिन दक्षिण मूलद्वारमा नेता तथा कार्यकर्ता लामबद्ध देखिन्थे । नियमित प्रवेश गर्ने कर्मचारीबाहेक हिजो मन्त्रीहरुलाई बधाई तथा शुभकामनाका लागि पास लिएर जानेको सङ्ख्या दुई हजार पाँच सय भन्दा धेरै थियो ।

सार्वजनिक बिदाका दिनबाहेक अरु दिनमा दैनिक एक हजार चार सय व्यक्ति सिंहदरबार परिसर प्रवेश गर्ने गरेकामा हिजो दुई हजार पाँच सयभन्दा धेरै व्यक्ति प्रवेश गरेको नेपाल प्रहरीको सिंहदरबारमा रहेको गणले जनाएको छ । गृह मन्त्रालयका उपसचिव एकदेव अधिकारीकाअनुसार यो गणले शान्ति सुरक्षाको प्रयोजनका लागि मूल प्रवेशद्वारहरुमा आगन्तुक प्रवेश व्यवस्थित गर्दै आएको छ ।

दक्षिण प्रवेशद्वारमा प्रवेसीलाई पास उपलब्ध गराउन तोकिएका चारवटा झ्यालमा लाइन बस्नेको घुइँचो थियो । जिल्लाबाट बधाई ज्ञापनका लागि आएका नेता तथा कार्यकर्ताले आ–आफ्ना दलसँग सम्बन्धित मन्त्रीलाई प्राथमिकतामा राखेका थिए भने केहीले समूहमा सबै मन्त्रालय पुगेर शुभकामना दिएका थिए ।

सिंहदरबारको केन्द्रीय चमेना गृहमा भेटिएका कञ्चनपुरका सिद्धार्थ भट्टले देशमा केही नयाँ नभएको अनुभूति भएको गुनसो गर्नुभयो । उहाँले भन्नुभयो,‘सिंहदरबारभित्रका चेहराहरु फरक देखेँ । मान्छेहरुको भीडभाड पनि बढेको देखेँ । तर देश र नागरिकका लागि नयाँ सरकारले केही सकारात्मक काम गरिदिए हुन्थ्यो ।’

नेता तथा कार्यकर्ताको भीड शहरी विकास, भौतिक पूर्वाधार, श्रम तथा यातायात, युवा तथा खेलकुद, सङ्घीय मामिला तथा सामान्य प्रशासन, वन तथा वातावरण, गृह, ऊर्जा, जलस्रोत तथा सिँचाइ तुलनात्मकरुपमा बढी देखिन्थ्यो । कतिपय नयाँ मन्त्रीलाई शुभचिन्तक, आफन्त, साथीभाई र नेता तथा कार्यकर्ताबाट पहिरिएको माला तथा खादा ग्रहण गर्ने र भेटघाटका लागि समय मिलाउन हम्मेहम्मे परेको थियो ।

भेटघाटमै बढी समय बिताएका कतिपय मन्त्रीहरुले हिजो नियमित काम समेत शुरु गर्न सकेनन् । आर्शिवाद दिन आएका पाहुँना पनि व्यक्तिगत र समूहमा तस्बिर लिन तँछाड मछाडमै व्यस्त थिए । कतिपय ठाउँमा खाँदा र मालाको थुप्रो असरल्लै देखिन्थ्यो । सिंहदरबारको भवन राणा प्रधानमन्त्री चन्द्रशमशेरले १९०३ सालमा बनाउनुभएको हो ।