मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पहिरोले अवरुद्ध कर्णाली राजमार्गको कालीकोट खण्ड अझै खुले

पहिरोले अवरुद्ध कर्णाली राजमार्गको कालीकोट खण्ड अझै खुले

न्यूजस्टोरी

काठमाण्डाै – वर्षासँगै आएको पहिरोले अवरुद्ध भएका कर्णाली राजमार्गको विभिन्न खण्डहरू अझै खुलेका छैनन् । कालीकोटको एस मोड र राकाममा गएराति पहिरो गएपछि सडक अवरुद्ध भएको छ ।

यसअघि शुभकालीका गाउँपालिका–१ गगनेखोला, खाँडाचक्र नगरपालिका–२ हुल्म, शेरीघाट र खाँडाचक्र–४ छेकामा पहिरो जाँदा गएको शुक्रवारदेखि नै राजमार्ग अवरुद्ध भएको छ । पानी पर्ने क्रम नरोकिएकाले अवरुद्ध सडक खुलाउन कठिन भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।

वर्षाका कारण कालीकोटमा बिजुलीकाे पोलसमेत ढलेको र यस मोडका धेरै घर बिजुलीविहीन भएका छन् । अहिले पानी पर्ने क्रम कम भएपछि राजमार्ग खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । पहिरो पन्छाउन समस्या हुँदा सुर्खेत, नेपालगञ्जदेखि कालीकोट, जुम्ला र मुगु आवतजावत गर्ने गाडी र यात्रु अलपत्र परेका छन् ।

यस्तै वर्षासँगै आएको भलबाढी तथा पहिरोका कारण कच्ची अवस्थामा रहेका खोटाङका सबै ग्रामीण सडक अवरुद्ध भएका छन् । ग्रामीण सडक अवरुद्ध भएपछि पालिकाहरू राष्ट्रिय सडक सञ्जालबाट विच्छेद भएका छन् । जन्तेढुङ्गा, बाराहापोखरी र खोटेहाङ गाउँपालिकाको कच्ची सडक हिलाम्य भएपछि कुनै पनि गाडी सञ्चालन हुन सकेको छैन । केपिलासगढी र ऐँसेलुखर्क गाउँपालिकालगायतका ग्रामीण क्षेत्रमा पनि झरीले बाटो हिलाम्य हुँदा गाडी सञ्चालन हुन नसकेको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङ्माङको जानकारी दिनुभयो ।

सगरमाथा लोकमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडक पनि अवरुद्ध छ । सङ्घीय राजधानी काठमाण्डाै जोड्ने मध्यपहाडी लोकमार्ग भने निरन्तर सञ्चालनमा रहेको जिल्ला प्रहरी कार्यालय खाेटाङका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले जानकारी दिनुभयो ।

२ सय १३ वटा राष्ट्रिय राजमार्गमध्ये बाढी ,पहिरो र अन्य कारणबाट २२ वटा राजमार्ग अवरुद्ध रहेका छन् । १ सय ८ वटा राजमार्ग एकतर्फी सञ्चालनमा छन् भने ८३ वटा राजमार्ग दुवैतर्फ सञ्चालन भइरहेका सडक विभागले जनाएको छ ।