मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मधेश प्रदेशका मुख्यमन्त्री सिंहलाई विश्वासको मत प्राप्त

मधेश प्रदेशका मुख्यमन्त्री सिंहलाई विश्वासको मत प्राप्त

न्यूजस्टोरी

काठमाडौं,२२ असार । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । गएको जेठ २५ गते मुख्यमन्त्रीको शपथ लिनुभएका जनमत पार्टीका सिंहले आज प्रदेश सभामा विश्वासको मत लिनुभएको हो ।

प्रदेश सभामा उपस्थित एक सय एक जना सांसदमध्ये मुख्यमन्त्री सिंहको पक्षमा ६७ मत र विपक्षमा ३४ मत परेको छ । एक सय सात सदस्यीय मधेश प्रदेश सभामा विश्वासको मतका लागि ५४ मत पर्याप्त हुन्छ ।

मुख्यमन्त्री सिंहलाई जनमतसहित नेपाली कांग्रेस, नेकपा एमाले, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नागरिक उन्मुक्ति पार्टीका सांसदले विश्वासको मत दिएका हुन् । नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), नेकपा(एकीकृत समाजवादी) र नेपाल सङ्घीय समाजवादी पार्टीका सांसदहरूले भने विपक्षमा मतदान गरेका छन् ।

सङ्घमा नयाँ गठबन्धन बनाएका कांग्रेस र एमालेले विश्वासको मत दिने भएपछि मुख्यमन्त्री सिंहले बिहान मात्रै नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल सङ्घीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका गरी छ जना मन्त्रीलाई बर्खास्त गर्नुभएको थियो ।