काठमाडौं । ताप्लेजुङमा मनसुनी वर्षा शुरू भएयता बढीपहिरोका कारण ८१ घरका ३४२ जना विस्थापित भएका छन् । एक साताको अवधिमा पहिरोमा परेर पाँचजनाको ज्यान गएको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले जानकारी दिए । उनका अनुसार यहाँका आठ घर पूर्णरूपले क्षति भएका छन् भने १८ घर उच्च जोखिममा छन् । जिल्लाका विभिन्न स्थानका ५५ घर जोखिममा रहेका उनले बताए ।
बाढीपहिरोबाट एक साताको अवधिमा ८४ वटा पशुचौपाया मरेका छन् । चार सवारीसाधनमा क्षति पुग्नाका साथै दुईवटा काठको मोटरेवल पुलसहित चारवटा पुल बाढीले बगाएको छ, प्रजिअ आचार्यले भने । बाढीपहिरोबाट विस्थापित ७० परिवार आफन्त तथा छिमेकीकामा आश्रय लिएर बसेको जनाउँदै ११ परिवार नजिकैको विद्यालयमा बसेका उनले बताए ।
उनका अनुसार पहिरोमा परेर फक्ताङलुङ–२ का एकै परिवारका चार जनाको निधन भएको थियो भने पाँचथर फिदिमका एकजनाको सिरीजङ्घामा निधन भएको थियो । पहिरोले अधिकांश ग्रामीण क्षेत्रका सडकका साथै विद्युत् आयोजनामा क्षति पुगेको छ । अवरुद्ध सडक स्थानीय तहले खुलाउने प्रयास गरिरहेका जनाएका छन्
सिरीजङ्घा र फक्ताङलुङ गाउँपालिकाका अधिकांश ग्रामीण सडक अवरुद्ध बनेका हुन् । बाढीपहिरोले नगदेबाली अलैँचीमा सबैभन्दा बढी क्षति पुगेको स्थानीयले बताएका छन् । हरेक दिन वर्षा भइरहेकाले ग्रामीण क्षेत्रका नागरिक त्रसित बनेका छन् ।


प्रतिक्रिया