नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रो कार्यकालको शपथ लिएका छन् ।
भारतको लोकसभा निर्वाचनमा नवनिर्वाचित कार्यबाहक प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार राष्ट्रपति भवनमा आयोजित एक समारोहमा भारतको प्रधानमन्त्रीका रुपमा सपथ लिएका हुन् ।राष्ट्रपति द्रौपदी मुर्मूले प्रधानमन्त्री मोदीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन् ।शपथ ग्रहण समारोहमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’, श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घे, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे, माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जु, मौरिससका प्रधानमन्त्री प्रविन्द जुगनाथ, बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना र सेशेल्सका उपराष्ट्रपति अहमद अफिफ सहभागी थिए ।
सन् २०१४ मा प्रधानमन्त्री बनेका मोदी दोस्रो पटक सन् २०१९ मा पुनः प्रधानमन्त्री भएका थिए । अघिल्लो दुई कार्यकालमा आफ्नो पार्टी बीजेपीलाई अत्याधिक बहुमत दिलाउन सफल मोदीले यसपटक भने सामान्य बहुमत पनि ल्याउन सकेनन् । उनको पार्टीले २४० सिट मात्र जिते पछि यसअघिको कार्यकालमा नाममात्रको बनाएको एनडीए गठबन्धनमा भर पर्न मोदी बाध्य भएका छन् । धेरैजसो भारतीय विश्लेषकहरुले मोदी–३ भन्दा पनि एनडीएको सरकारको रुपमा विश्लेषण गरेका छन् ।
मोदीसँगै उनको मन्त्री परिषद्मा भाजपाका केन्द्रीय अध्यक्ष जगत प्रसाद नड्डा, राजनाथ सिंह, अमित शाह र नितिन गडकरीले क्याविनेट मन्त्रीका रूपमा शपथ लिएका छन् सिंह, शाह र गडकरी यस पहिलेको सरकारमा क्रमशः रक्षामन्त्री गृहमन्त्री र यातायात मन्त्रीका रूपमा काम गरेका थिए ।
नयाँ मन्त्रीमण्डलमा जनता दल युनाइटेडका राष्ट्रिय अध्यक्ष ललन सिंह र मध्यप्रदेशका पूर्वमूख्यमन्त्री शिवराज सिंह चौहानले पनि शपथ लिएका छन् ।


प्रतिक्रिया