मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालगन्जमा आज यसवर्षकै बढी गर्मी

नेपालगन्जमा आज यसवर्षकै बढी गर्मी

न्यूजस्टोरी

नेपालगन्ज, १६ जेठ । नेपालगन्जमा आज यसवर्षकै सबैभन्दा बढी गर्मी महसुस गरिएको छ । जल तथा मौसम विज्ञान फिल्ड कार्यालय, नेपालगन्जकी इञ्जार्च मीना शिवाकोटीले नेपालगन्जको अधिकतम तापक्रम ४२ दशमलव आठ रेकर्ड भएको जानकारी दिनुभयो । उक्त तापक्रम यो वर्ष गर्मी सुरु भएयताकै सबैभन्दा बढी भएको उहाँले बताउनुभयो ।

“केही दिन अझै तापक्रम बढ्नसक्छ तर कति बढ्छ भन्न सकिदैन”, उहाँले भन्नुभयो । जल तथा मौसम विभागले जेठ १८ गतेसम्म गर्मी बढ्ने अनुमान गरेकाले बिहीबार र शुक्रबार तापक्रम झनै वृद्धि हुने पूर्वामानुमान छ । गर्मी बढ्न सक्ने भएकाले सचेत रहन सर्वसाधारणलाई विभागले आग्रह गरेको छ । गर्मीका कारण जनजीवन कष्टकर भएको स्थानीयले बताएका छन् ।वीरगञ्जबाट कामको सिलसिलामा नेपालगञ्ज आएका सरोज पटेलले वीरगञ्जभन्दा नेपालगन्जमा धेरै गर्मी महसुस गरेको बताए । “ठोस पदार्थ खान मन लाग्दैन, मुख पनि सुक्खा हुन्छ पानी खाँदै हिँडिरहेको छु”, उहाँले भन्नुभयो । अत्यधिक गर्मीका कारण सबैभन्दा बढी खुला ठाउँमा काम गर्ने मजदुर र रिक्साचालक प्रभावित भएका छन् । चिकित्सकले गर्मीबाट जोगिन बढी पानी पिउन र अति आवश्यक कामबाहेक घरबाट बाहिर ननिस्कन आग्रह गरेका छन् । भेरी अस्पताल नेपालगञ्जका चिकित्सक डा.संकेत रिसालले केही दिनयता अस्पतालमा बिरामीको चाप ह्वात्तै बढेको जानकारी दिनुभयो । उहाँले सबैभन्दा बढी छालाका बिरामी आउने गरेको बताउनुभयोृ । त्यसबाहेक झाडापखाला, ज्वरो र ‘लु’ का कारण आँखामा सङ्क्रमण भएका बिरामी पनि अस्पतालमा भर्ना भएको उहाँले बताउनुभयो । “ज्वरोका बिरामीको रिपोर्ट सामान्य नै छ तर अस्पताल भरिभराउ छ”, उहाँले भन्नुभयो ।

गर्मीमा विद्युत् नियमित नहुँदा नागरिकले ठूलो सास्ती खेप्न बाध्य भएका छन् । “विद्युत् सहज नहुँदा झन अप्ठ्यारो भएको छ”, स्थानीय आरती गौतमले भन्नुभयो ।

नेपाल विद्युत् प्राधिकरण नेपालगन्ज् वितरण केन्द्रका प्रमुख जगन्नाथ लामिछानेले गत साता आएको हुरीले दुई सय बढी खम्बा ढलेपछि समस्या भएको बताउनुभयो । हावाहुरीले ठूलो क्षति पुगेपछि विद्युत् वितरणमा समस्या भएको र केही दिनमा समस्या समाधान हुने लामिछानेको भनाइ छ ।