मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मन्त्रिपरिषदका कुन सदस्यको कति सम्पति ?

मन्त्रिपरिषदका कुन सदस्यको कति सम्पति ?

न्यूजस्टोरी

काठमाडौं । सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइटमा मंगलबार विवरण राखिएको छ । सार्वजनिक गरिएको विवरणअनुसार प्रधानमन्त्री प्रचण्डको विवरणमा पाँच तोला सुन राखिएको छ । जुन प्राप्तिको स्रोत पैतृक देखाइएको छ ।

भरतपुर महानगरपालिकाको वडा नम्बर १४ मा १४ कठ्ठाको घरघडेरी रहेको उल्लेख छ । जुन स्व। श्रीमती सीता दाहालको नाममा रहेको विवरणमा जनाइएको छ । त्यस्तै, भरतपुर महानगरपालिकाको वडा नम्बर १२ मा एक कठ्ठा जग्गा रहेको विवरणमा उल्लेख छ । २५ लाख रुपैया बैंक, वित्तीय तथा सहकारी संस्थामा रहेको विवरणमा जनाइएको छ ।

भरतपुर महानगरपालिकामा स्वर्गीय दाहालको नाममा १ कठ्ठा जमिन रहेको र यो अंशबाट प्राप्त भएको उल्लेख छ । प्रधानमन्त्रीसँग ५ तोला सुन छ, यो पनि पैतृक भएको विवरणमा उल्लेख छ । प्रचण्डले नाममा एभरेष्ट बैंकमा २५ लाख रुपैयाँ नगद मौज्दात रहेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । सो रकम प्रतिनिधिसभा सदस्यका हैसियतमा प्राप्त भएको स्रोतमा आधारित रहेको उल्लेख छ ।


विवरणअनुसार प्रधानमन्त्रीको नाममा कुनै पनि पशु धन, ऋण र सवारी साधन छैन । २०७३ सालमा प्रधामनन्त्री हुँदा उनले बुझाएको सम्पत्ति विवरणमा एक कठ्ठा पैतृक सम्पत्ति र ३ तोला सुन रहेको उल्लेख थियो । अहिले प्रधामनन्त्री प्रचण्डले थप १४ कठ्ठा जमिन पनि थप सम्पत्तिका रुपमा देखाएका छन् । तर यसलाई पनि पैतृक सम्पत्तिकै रुपमा उल्लेख गरेका छन् । २०७३ सालमा ३ तोला मात्रै पैतृक सुन रहेको विवरण बुझाएका प्रचण्डले अहिले ५ तोला सुनलाई पनि पैतृक नै भनेका छन्

नारायणकाजीको सम्पत्ति

उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नो बैंक खातामा १ लाख २२ हजार ९१८ रुपैयाँ ६४ पैसा रहेको खुलाएका छन् । मंगलबार सार्वजनिक उनको सम्पत्ति विवरणमा उनले आफ्नो पैत्रिक सम्पत्ति पार्टीलाई हस्तान्तरण गरेको घोषणा गरेका छन् । गोरखाको सिरानचोक गाउँपालिका ८ मा उनको नाममा ३ कित्ता जग्गा छ ।

एउटा कित्ता ३१ रोपनी १५ आना छ, अर्को कित्ता १ रोपनी १० आना र अर्को ५ रोपनी ७ आना छ । त्यसलाई उनले पैत्रिक भनेका छन् र २०५८ सालमै पार्टीलाई हस्तान्तरण गर्ने घोषणा गरेको र हाल प्रक्रियामा रहेको बताएका छन् । उनीसँग कुनै पनि कम्पनीको शेयर वा धितोपत्रहरु नभएको सम्पत्ति विवरणमा खुलाइएको छ । उनीसँग बा १० च ५७९८ नम्बरको महिन्द्रा गाडी छ, यो गाडी प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रयोगका लागि उपलब्ध गराएको श्रेष्ठले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।

गृहमन्त्री रविको सम्पत्ति

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको सम्पत्ति विवरण सार्वजनिक भएको छ । विवरणअनुसार, लामिछानेको नाममा नेपाल बैंक लिमिटेडमा एक लाख ५ हजार र ग्लोबल आईएमई बैंकमा ५ हजार रुपैयाँ छ । उनको नाममा भक्तपुरमा १ रोपनी १ आना जग्गा छ । पैतृक सम्पत्तिबाट प्राप्त यो जग्गाबाहेक अरु सबै पत्नी निकिता पौडेलको नाममा भएको उनको सम्पत्ति विवरणमा उल्लेख छ ।

निकिताको नाममा बुढानिलकण्ठ–८ मा ५ आना जग्गामा बनेको घर छ । विभिन्न व्यवसाय सञ्चालनबाट आएको रकमबाट ३ करोड ७५ लाख रुपैयाँमा घर खरिद गरेको भनिएको छ । घर किन्दा बैंकबाट लिएको २ करोड ५० लाख रुपैयाँमध्ये अब १ करोड ५० करोड तिर्न बाँकी रहेको सम्पत्ति विवरणमा उल्लेख गरिएको छ । लामिछानेले पत्नी निकिता पौडेलसँग ८० तोला सुन रहेको पनि खुलाएका छन् । त्यसको स्रोत भने अधिकांश बुबाआमाले दिएको र केही खरिद गरेको उल्लेख गरिएको छ ।

त्यस्तै, १५÷२० केजी चाँदी रहेको भनिएको छ । त्यो २५० देखि ३०० प्रति तोला भएको बेला खरिद गरेको भनिएको छ । अन्य नगद निकिता पौडेलको नाममा छ । पत्नी निकितासँग गोपीकृष्ण सेन्ट्रल कम्प्लेक्सको १० रोपनी ८ आना जग्गाको २५ प्रतिशत शेयर रहेको पनि गृहमन्त्री लामिछानेले उल्लेख गरेका छन् ।

निकिताको नाममा टाटा नेक्सनको विद्युतीय कार रहेको भनिएको छ । ४२ लाख रुपैयाँमा दुवैको निजी आय र बचतबाट २०७९ सालमा कार खरिद गरेको भनिएको छ । निकिता नारी टेलिभिजन र गोपीकृष्ण कामाक्ष मिडिया कम्पनीको सञ्चालक रहेको उल्लेख गरिएको छ । नारी टेलिभिजनको हालको मूल्य ३ करोड रुपैयाँ र कामाक्ष मिडियाको हालको मूल्य १ करोड रुपैयाँ रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।

भौतिकमन्त्री महासेठको सम्पत्ति

उपप्रधान, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । उनले सार्वजनिक गरेको सम्पत्तिमध्ये अधिकांश श्रीमती जुलीकुमारी महतोको नाममा देखिन्छ । महतोको नाममा जनकपुरमा ४२०० वर्गमिटर जग्गामा घर, ललितपुरमा २ रोपनी १३ आना जग्गा र घर, धनुषामा ७ बिघा क्षेत्रफल जग्गा, ललितपुरकै अर्को ठाउँमा १ रोपनी ७ आना जग्गा रहेको छ । त्यस्तै महासेठको नाममा धनुषामा १ बिघा बढी जग्गा रहेको छ ।

२ करोड २५ लाख रुपैयाँ बराबर नगद, ४३ तोला सुन, १।५ किलो चाँदी आफूसँग रहेको मन्त्री महासेठको सम्पत्ति विवरणमा उल्लेख छ । तीबाहेक पत्नी महतोको नाममा विभिन्न कम्पनीको ३ करोड ५५ लाख रुपैयाँ बराबरको सेयर रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।

अर्थमन्त्री पुनको सम्पत्ति

अर्थमन्त्री वर्षमान पुनको नाममा रोल्पामा पैतृक सम्पत्ति ८२० वर्ग मिटर क्षेत्रफल जग्गा रहेको छ । मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार एनएमबी बैंकमा ३३ लाख ७० हजार ६१८ रुपैयाँ नगद रहेको छ ।

त्यो पनि तलब भत्ता र भ्रमण भत्ता जोडेर विवरणमा देखाइएको छ । हलुका सवारी साधन भने पार्टीले दिएको उल्लेख छ । त्योबाहेक उनले आफ्नो नाममा केही पनि नभएको उल्लेख गरेका छन् । श्रीमती ओनसरी घर्ती मगरको नाम भने उनले उल्लेख गरेका छैनन् ।

सञ्चारमन्त्री रेखाको सम्पत्ति

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको २० लाख रुपैयाँ सहकारीमा रहेको छ । विवरणअनुसार सञ्चारमन्त्री शर्मासँग एक लाख ७८ हजार रुपैयाँ दुई बैंकमा बचत रहेको छ । कीर्तिपुरमा उनको २।५ तलाको घर रहेको उल्लेख छ । प्युठानमा रहेको पैतृक घर बिक्री गरी अर्को घर निर्माणमा लगानी गरेको उल्लेख छ । पैतृक तथा उपहारबापतको ६ तोला सुन र दुई तोला चाँदी पनि उनीसँग रहेको छ । उनको परिवारका सदस्यसहितको नाममा एक हजार ५०० कित्ता आईपीओसहितको सेयर रहेको पनि उल्लेख छ । उनीसँग ३६ लाख रुपैयाँको कार र बैंकबाट ६५ लाख रुपैयाँ ऋण लिएको विवरणमा उल्लेख छ ।

मन्त्री जोशीको सम्पत्ति

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले आफ्नो र परिवारको नाममा ३ वटा घर भएको सम्पत्ति विवरण बुझाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले मंगलबार सार्वजनिक गरेको मन्त्रीहरुको सम्पत्ति विवरणअनुसार मन्त्री जोशीले आफ्नो नाममा बझाङ जयपृथ्वी नगरपालिका–७ मा २ रोपनी क्षेत्रफलमा बनेको घर रहेको उल्लेख गरेका छन् ।

त्यस्तै, मन्त्री जोशीले जयराज जोशीको नाममा बझाङमै २ रोपनी क्षेत्रफलमा बनेको पैत्रिक घर पनि उल्लेख गरेका छन् । छ भने काठमाडौं कीर्तिपुरमा जयलक्ष्मी देवी जोशीको नाममा एउटा घर छ । त्यस्तै बझाङमै जयराज जोशीको नाममा जग्गा छ । त्यसको स्रोत भने बुवाको ३ वटै भाइहरुबाट आएको मन्त्री जोशीले उल्लेख गरेका छन् । काठमाडौंको चन्द्रागिरीमा ४ आना २ दाम निर्मलाकुमारी कोइरालाको नाममा जग्गा छ । १३ लाख रुपैयाँमा तलबबाटै किनेको जोशीले उल्लेख गरेका छन् ।

मन्त्री जोशीले ४ तोला सुन भएको उल्लेख गरेका छन् । जयलक्ष्मी देवी जोशीको नाममा रहेको उक्त सुन पैत्रिकसहित बिहेमा दाइजो पाएको उल्लेख गरेका छन् । त्यस्तै, लोकेन्द्र जोशीको नाममा ८८।६६ ग्राम, निर्मला कोइरालाको नाममा ३९ ग्राम सुन र त्यसको स्रोत पैत्रिक देखाएका छन् । मन्त्री जोशीले ६० तोला चाँदी रहेको र त्यो पैत्रिक भएको उल्लेख गरेका छन् ।

आफ्नो नाममा बैंकमा १ लाख मौज्दातमात्रै भएको सम्पत्ति विवरण बुझाएका छन् । राष्ट्रिय वाणिज्य बैंक महाराजगञ्जमा भएको खातामा उनले तलब भत्ताबाट १ लाख रुपैयाँ जम्मा गरेको उल्लेख गरेका छन् । त्यस्तै, नेपाल बैंकमा जयलक्ष्मी जोशीको नाममा ५ हजार, निर्मला कुमारी कोइरालाको नाममा लक्ष्मी सनराइज बैंकमा १ हजार र ग्लोबल बैंक ५० हजार रुपैयाँ मौज्दात देखाएका छन् । त्यसको स्रोत पनि तलबभत्ता नै उल्लेख गरिएको छ ।

विजय जोशीको नाममा ग्लोबल आईएमई बैंकमा ५ हजार र लोकेन्द्र जोशीको नाममा एभरेस्ट बैंकमा ८ हजार मौज्दात रहेको सम्पत्ति विवरण मन्त्री जोशीले बुझाएका छन् । जयलक्ष्मी देवी जोशीको नाममा रगुनखोलामा ८ लाख रुपैयाँको सेयर खरिद गरेको मन्त्री जोशीले उल्लेख गरेका छन् । उक्त रकमको स्रोत जग्गा बिक्रीवापत प्राप्त भएको उल्लेख गरेका छन् ।

मन्त्री जोशीले आफ्नो सम्पत्ति विवरणमा ४३ लाख रुपैयाँ ऋण उल्लेख गरेका छन् । तर, त्यो ऋण पनि जयलक्ष्मी देवी र निर्मला कोइरालाको नाममा छ । उनले उक्त ऋणबाट ३ लाख १० हजार रुपैयाँ तिरेको पनि जानकारी दिएका छन् । त्यस्तै, निर्मलाकुमारी कोइरालासँग आमाबुवाले दिएको एउटा स्कुटर छ ।

पर्यटनमन्त्री तामाङको सम्पती

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएको विवरण अनुसार तामाङसँग राष्ट्रिय वाणिज्य बैंकमा ७ लाख ५० हजार रुपैयाँ मौज्दात छ । त्यस्तै चल सम्पत्तिमा १३ लाख नगद पनि छ, जसलाई उनले तलब भत्ताबापत पाएको भनेका छन् ।

त्यसैगरी उनको जन्मथलो नुवाकोट पञ्चकन्या गाउँपालिका–३ मा १२ रोपनी ८ आना ३ पैसा १ दाम जग्गा पैतृक सम्पत्ति रहेको उल्लेख गरेका छन् । त्यसबाहेक तामाङसँग ६ तोला सुन र ७÷८ तोला रहेको र ती तलब भत्ताबाट खरिद गरेको उनले विवरणमा खुलाएका छन् ।

सहरी विकासमन्त्रीको सम्पत्ति

सहरी विकासमन्त्री धनबहादुर बुढासँग दुई करोडभन्दा बढीको सुन रहेको छ । उनले सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार हाल उनीसँग १५० तोला सुन मौज्दात रहेको छ । आजको बजार भाउमा यो दुई करोड बढीको हो ।

यस्तै, उनीसँग ३०० तोला चाँदी रहेको उल्लेख छ । बुढाले सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार काठमाडौं महानगरपालिका–६ मा सात आना जग्गा रहेको छ । जुन आजको बजार भाउमा तीन करोडमाथिको सम्पत्ति हो । उनीसँग ६० लाख रूपैयाँ बैंकमा मौजुदा रहेको उल्लेख छ

मन्त्री राईको सम्पत्ति

खानेपानीमन्त्री राजेन्द्र राईले आफूसँग सात गाई, ६३ बाख्रा समेत रहेका सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मंगलबार सार्वजनिक गरेको विवरणानुसार, राईसँग गाई र बाख्रा गरेर ३५ लाख रुपैयाँबराबरको सम्पत्ति छ । यस्तै, रामबहादुर राई र राष्ट्रिय वाणिज्य बैंकको गरेर आफ्नो ५५ लाख रुपैयाँ ऋण रहेको उनले उल्लेख गरेका छन् ।

खेलकुदमन्त्री श्रेष्ठको सम्पती

युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले शेयर मार्केटमा एक करोड बढी लगानी गरेका छन् । उनले मन्त्रिपरिषद्मा बुझाएको सम्पत्ति विवरणअनुसार उनीसँग १५ हजार ९०६ कित्ता शेयर रहेको छ । जसको मूल्य एक करोड ९ लाख ८० हजार ५०९ रूपैयाँ रहेको उनले उल्लेख गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० संसदीय दलका उपनेता समेत रहेका उनले आफ्नै बुबा विरेन्द्रभक्त श्रेष्ठसँग २० लाख रूपैयाँ ऋण लिएका छन् । २०७० सालमा लिएको ऋण अझै फिर्ता नगरेको विवरण उनले उल्लेख गरेका छन् । हाल उनीसँग कुल ५० लाख ऋण रहेको पनि उल्लेख छ । उनीसँग ल्यान्ड क्रुजर, विद्युतीय सवारी साधन रहेका छन् । बैंकमा उनीसँग ८३ लाख ७२ हजार ७४५ रूपैयाँ रहेको छ ।

श्रममन्त्री डीपी अर्यालको सम्पत्ति

धादिङ स्थायी ठेगाना भएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोल प्रसाद ९डीपी० अर्यालसँग करोडौँको चलअचल सम्पत्ति रहेको पाइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत सार्वजनिक मन्त्रीहरूको सम्पत्ति विवरणअनुसार अर्यालकी श्रीमती अम्बिका केसीको नाममा काठमाडौँमा करिब ३ करोड मूल्य बराबरको घर रहेको छ ।

यस्तै उनको र अम्बिका केसीको नाममा १२ ठाउँमा जग्गा रहेको सम्पत्ति विवरणमा उल्लेख छ । धादिङको गजुरी, काठमाडौँको नागार्जुन र लमजुङको राइनासमा उनीको जग्गा रहेको हो । उक्त जग्गा व्यापार र निजी कमाइबाट आर्जन गरिएको सम्पत्ति विवरणमा उल्लेख छ । यस्तै अर्यालसँग १५० तोला सुन, १०० तोला चाँदी र हिरा १० तोला रहेको छ । सबै सुनचाँदी र हिरा व्यापारबाट आर्जन गरिएको सम्पत्ति विवरणमा उल्लेख छ । यस्तै अर्यालको विभिन्न बैंकमा नगद मौज्दात, सेयर र गाडी सम्पत्ति विवरणमा उल्लेख छ ।

वन मन्त्री नवलकिशोरको सम्पत्ति

वन तथा वातावरण मन्त्री नवलकिशोर साह सुडीले पनि आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको हो । जसमा वन तथा वातावरण मन्त्री नवलकिशोर साह सुडीको विवरणमा १२ बोरको राइफल बन्दुक उल्लेख गरेका हुन् ।

उनले सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर ९मा छानाले छाएको दुई वटा घर र एउटा निर्माणाधीन रहेको विवरणमा उल्लेख गरेका छन् । त्यस्तै श्रीमती साबित्री देवी साह सुडीको नाममा पनि पाँच वटा घर र शैलेशकुमार साहको एउटा घर रहेको उल्लेख छ । उनले विभिन्न ठाउँमा जग्गा किनेको र पैतृत जग्गाको विवरण पनि खुलाएका छन् ।

उनकी श्रीमती सावित्री देवी साह सुडीसँग ५६ तोला सुन र ६५० ग्राम चाँदी रहेको छ । विवाह गर्दा ससुराली र बुबा आमाबाट उपहारस्वरूप प्राप्त भएको जनाएको छ । उनका छोरासँग पनि ३५ तोला सुन छ । तीन जना बुहारीहरू माधवी भारतीसँग २२ तोला सुन, शालिनी देवीसँग १७ तोला र मंजु साहसँग २८ तोला सुन छ । मन्त्री सुडीको विभिन्न बैंकमा ४० लाख भन्दा बढी नगद देखिएको छ ।therimonline.com/…s/2024/05/रघवर-महसठ.pdf