काठमाडौं । प्रतिपक्षी दलहरूको बैठक सकिएको छ । आज बिहान नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिपक्षी दलहरूको बैठक बोलाउनुभयो । बैठकमा राप्रपा, लोसपा, जसपा नेपाललगायत दलका नेताहरूको उपस्थिति रहनुभएको थियो। बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संसदीय छानबिन समिति गठन गर्नुपर्नेमा प्रतिपक्षी दलहरू एकजुट भएको प्रतिक्रिया दिनुभएको थियो ।
नेपाली कांग्रेसले सहकारीको रकम घोटालाका सम्बन्धमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय समिति बनाएर छानबिन गर्नुपर्ने माग उठाउँदै आएको थियो । तर, सत्ता पक्ष त्यसमा सहमत नहुँदा सदनको बैठक अवरुद्ध हुँदै आएको छ ।
अब संसदीय समिति बनाउनुपर्नेमा प्रतिपक्षी दलहरू एक ठाउँमा उभिएपछि सत्तापक्षमाथि दबाब बढेको छ । यही विषयमा बिहीबार संसदमा धकेलाधकेलको स्थितिसमेत सिर्जना भएको थियो । त्यस्तै बिहीबारको घटनाका सम्बन्धमा प्रतिपक्षीहरूले सभामुखको ध्यानाकर्षण गराउने भएका छन् । प्रतिपक्षी दलहरूको बैठक सकिएसँगै प्रमुख सचेतकहरू सभामुखलाई भेट्न गएका छन् ।


प्रतिक्रिया