इलाम, १८ बैशाख । इलाम-२ मा नेकपा (एमाले)का सुहाङ नेम्वाङ विजयी हुनुभएको छ । उहाँ नेपाली कांग्रेसका उमेदवार डम्बर खड्कालाई पराजित गर्दै प्रतिनिधिसभा सदस्य पदमा विजयी हुनुभएको हो ।
नेम्वाङले निकटतम प्रतिस्पर्धी कांग्रेसका खड्कालाई पाँच हजार ८३० मतान्तरले पराजित गर्नुभएको हो । विजयी नेम्वाङले २७ हजार ७७२ मत प्राप्त गर्नुभयो । दोस्रो स्थानमा रहनुभएका खड्काले २१ हजार ९४२ मत प्राप्त गर्नुभयो । तेस्रोमा पहिचानवादी स्वतन्त्र उमेदवार डकेन्द्रसिंह थेगिमले ११ हजार ४५७ मत पाउनुभयो । चौथो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार मिलन लिम्बुले पाँच हजार ५० मत ल्याउनुभयो । २०८० भदौ २६ गते एमालेका नेता तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपश्चात यो क्षेत्र खाली रहेको थियो । सोही रिक्तता पूर्ति गर्न वैशाख १५ मा उपनिर्वाचन भएको हो । सुहाङ सुवासका कान्छा छोरा हुनुहुन्छ । २०४६ सालमा काठमाडौंमा उहाँको जन्म भएको हो । उहाँले कानुन विषय अध्ययन गर्नुभएको छ ।
सुहाङलाई उपनिर्वाचनमा एमालेले माओवादी केन्द्र, नेपाल परिवार दल, नेकपा विप्लव समूह समेतका गठबन्धनका साझा उमेदवारका रूपमा इलाम(२ मा उमेदवार बनाएको थियो ।
यसअघि २०७९ मा भएको निर्वाचनमा कांग्रेसका खड्का सुहाङका बुवा सुवासचन्द्र नेम्वाङसँग ११४ को झिनो मतान्तरले पराजित हुनुभएको थियो ।
गत शनिबार भएको उपनिर्वाचनमा १२ राजनैतिक दल, सात स्वतन्त्रसहित १९ जना उमेदवारले उपनिर्वाचनमा प्रतिस्पर्धा गरेका थिए ।


प्रतिक्रिया