मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कतारका राजा काठमाडौंमा, विमानस्थलमा भव्य स्वागत

कतारका राजा काठमाडौंमा, विमानस्थलमा भव्य स्वागत

न्यूजस्टोरी

काठमाडौं, ११ बैशाख । कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी दुई दिने नेपाल भ्रमणका क्रममा काठमाण्डौ आइपुग्नुभएको छ ।

कतारका अमिर थानी दिउँसो पौने ४ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिनुभएको हो । विमानस्थलमा उहाँलाई राष्ट्रपति रामचन्द्र पौडेलले स्वागत गर्नुभएको छ । कतारका अमिरलाई स्वागत गर्न विमानस्थलमा राष्ट्रपतिसँगै उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ पनि पुग्नुभएको थियो । उहाँको सम्मानमा नेपाली सेनाले सलामी दिएको छ ।

राष्ट्रपति पौडेलको निमन्त्रणमा कतारका अमिर दुई दिने राजकीय भ्रमणका लागि उनी नेपाल आउनुभएको हो । उहाँले आजै राष्ट्रपति पौडेलसँग शीतल निवासमा भेटवार्ता गर्ने कार्यक्रम छ । उहाँको सम्मानमा राष्ट्रपतिले रात्रिभोजको आयोजना गर्नुभएको छ ।

भोलि बिहान कतारका अमिर र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच प्रतिनिधिमण्डलस्तरमा द्विपक्षीय भेटवार्ता हुनेछ । त्यसपछि द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर हुनेछ । नेपालले कतारी राजासँग हमास लडाकु समूहको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीको रिहाइका लागि पहल गरिदिन आग्रहसमेत गर्ने भएको छ । त्यस्तै नेपालले कतारी राजालाई दुई वटा हात्ती उपहार दिने भएको छ ।

कतारसँग २०३३ साल माघमा नेपालको कुटनीतिक सम्बन्ध स्थापना भएयता कतारबाट मात्र नभई खाडी क्षेत्र ९मध्यपूर्व० बाटै अहिलेसम्म राष्ट्राध्यक्षको स्तरमा हुन लागेको यो पहिलो नेपाल भ्रमण हो ।

कतारका राजा भोलि स्वदेश फर्किने कार्यक्रम छ । सरकारले कतारका राजाको राजकीय भ्रमणका अवसरमा आज सार्वजनिक बिदा दिएको छ ।

कतारका अति विशिष्ट पाहुनाको स्वागतका लागि काठमाण्डौको मुख्य सडक, चोकमा स्वागतद्वार, तुल ब्यानरसहित चिटिक्क पारिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीनकुने, नयाँ बानेश्वर, बबरमहल, माइतीघर, त्रिपुरेश्वर, कालीमाटी, जमल, लैनचौर, त्रिपुरेश्वरलगायत क्षेत्रमा स्वागतद्वारसहित सडक सफाइलगायतका व्यवस्थापन गरेको काठमाण्डौ महानगरपालिकाले जनाएको छ । महानगरपालिकाले स्वागतद्वार निर्माण, सडक सरसफाइलगायतका काम गरेको हो ।