काठमाडौं, २९ चैत्र । राष्ट्रिय मुस्लिम आयोगले बकर इदमा घरघरमै बसेर नमाज पढ्न आग्रह गरेको छ ।
कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै मुस्लिम आयोगले घरघरमै नमाज पढेर बकर इद मनाउन आग्रह गरेको हो ।आयोगका अध्यक्ष समिम मिया अन्सारीले कोरोना संक्रणको जोखिम बढ्दै गएकाले सबै पक्षसँग सल्लाह गरी घरघरमै नमाज पढ्न आग्रह गर्ने निर्णय गरिएको बताउनुभयो । वर्षमा एकपटक मात्रै आउने पर्व भएकाले केही असहज भएपनि देशवासीका लागि यो कदम चालिएको अन्सारीले बताउनुभयो । विगत वर्षहरुमा बकर इदको दिन दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मीरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लाग्ने गरेको भएपनि यो वर्ष भने सुनसान देखिएको छ ।इदका अवशरमा मक्का मदिना जानु शुभ मानिने भए पनि यस वर्ष कोरोनाका कारण अन्तर्राष्ट्रिय उडानसमेत बन्द रहेको छ ।
जसका कारण हजयात्री मक्का मदिना जान पाएका छैनन् । यस पर्वमा अल्लाहलाई खुशी पार्न मुस्लिम समुदायले धर्मले जायज मानेका जनावरलाई कुर्बानी (बलि) दिने गर्दछन् ।


प्रतिक्रिया