काठमाडौं, १६ माघ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रियता, जनतन्त्र र जनजीविकाको पक्षमा सङ्घर्ष गर्ने क्रममा बलिदान गर्ने शहीदहरू विगत, वर्तमान र भविष्यका निम्ति प्रेरणाका स्रोत र पथप्रदर्शक रहिरहने बताउनुभएको छ ।शहीद दिवस २०८० का अवसरमा आज शुभकामना दिँदै उहाँले देश र जनताको मुक्ति एवं परिवर्तनका निम्ति शहीदले देखेका सपना र लिएको अठोटलाई शीरोधार्य गर्दै क्रान्तिका बाँकी कार्यभार पूरा गर्न सङ्कल्प गर्नुपर्ने बताउनुभयो ।
शहीदको योगदानलाई सम्मान गर्दै उनीहरूको योगदान र कृति चीरस्थायी तुल्याउने एवं शहीद परिवारको उचित सम्मान, संरक्षण र जीवनवृत्तिका निम्ति समर्पित हुने दिनका रूपमा शहीद दिवस रहिआएको उहाँले बताउनुभयो। उहाँले शुभकामना सन्देशमा लेखेका छन्, ‘यही यथार्थलाई आत्मसात् गर्दै सरकारले इतिहासका विभिन्न कालखण्डमा सहादत प्राप्त गर्ने सपुतलाई राष्ट्रिय शहीद घोषणा गर्दै उहाँहरूको सम्मान र परिवारको संरक्षण र अभिभावकत्वको पक्षलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको छ ।
’प्रधानमन्त्री प्रचण्डले आफ्नो पहिचान र अधिकारका निम्ति विभिन्न वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायको नेतृत्वमा भएका न्यायपूर्ण आन्दोलनको बलमा नै वर्तमान संविधान र लोकतान्त्रिक व्यवस्था प्राप्त भएको उल्लेख गर्दै वर्तमानमा प्राप्त उपलब्धिको रक्षा र सुदृढ गर्दै थप अधिकारका निम्ति समर्पित हुनु नै शहीदहरूप्रति सच्चा श्रद्धाञ्जलि हुने उल्लेख गरेका छन् । उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरणसहित थप अधिकारका निम्ति कर्तव्यनिष्ठ भएर अगाडि बढ्न शहीद दिवसबाट प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री प्रचण्डले मुलुकका निम्ति जीवन अर्पण गर्ने शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै सम्पूर्ण बेपत्ता योद्धाको उच्च सम्मान र घाइते योद्धाको शीघ्र स्वास्थ्यलाभसहित दीर्घजीवनको कामना पनि गर्नुभएको छ ।


प्रतिक्रिया