काठमाडौं, ३ माघ । हरेक दिन कुनै न कुनै निर्देशन दिँदै आउनुभएका प्रधानमन्त्री प्रचण्डले आज पनि ३ वटा छुट्टाछुट्टै विषयमा निर्देशन दिनुभएको छ ।
उहाँले भिजिट भिसामा विदेश जानेहरूको गुनासो सम्बोधन गर्न, सहकारीका समस्या समाधान गर्न र प्रहरी समायोजनको प्रक्रिया छिटो टुङ्ग्याउन निर्देशन दिनुभएको हो । प्रधानमन्त्री प्रचण्डले भिजिट भिसा र श्रम स्वीकृति लिएर विदेश जाने नेपालीलाई विमानस्थलमा सास्ती झेल्नुपरेको भन्दै त्यस्ता काम तत्काल बन्द गर्न समेत निर्देशन दिनुभएको छ । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी, मुख्यसचिव वैकुण्ठ अर्यालसहित सम्बन्धित मन्त्रालयका सचिवहरूसँग आज भएको छलफलमा प्रधानमन्त्रीले निर्देशन दिनुभएको हो ।
छलफलमा प्रधानमन्त्रीले भिजिट भिसा र श्रम स्वीकृति लिएकाहरूलाई विमानस्थलमा सास्ती दिने गरेको गुनासो आएकोले तत्काल सहज बनाउन निर्देशन दिनुभएको प्रधानमन्त्रीको निजी सचिवालयले उल्लेख गरेको छ । उहाँले भिजिट भिसामा जानेलाई कागज पुगेन भनेर विमानस्थलबाट फर्काउने र फेरि केही दिनपछि ुसेटिङु मिलाएर पठाउने गरेको गुनासो आएको बताउनुभयो । साथै उहाँले भिजिट भिसामा घुम्न जानेहरूका सम्बन्धमा अध्यागमन कार्यविधिअनुसार गर्नरगराउन र अनावश्यक हैरानी दिने काम बन्द गर्न भन्नुभएको छ ।
त्यस्तै सहकारीमा देखिएका समस्या समाधान गर्न पनि प्रधानमन्त्रीको निर्देशन छ । बिहान बालुवाटारमा भएको छलफलमा उहाँले यो निर्देशन दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । दीर्घकालीन र तत्कालीन उपाय अपनाएर सहकारीलाई व्यवस्थित बनाउनुपर्नेमा प्रधानमन्त्रीको जोड छ । उहाँले सहकारीको अनुगमनका लागि प्रभावकारी नियामक निकाय बनाउनुपर्ने विषयमा आफ्नो ध्यान गएको भन्दै सहकारीसम्बन्धी अहिले कार्यरत नियामक संस्थाहरूलाई राम्रा, सङ्कटमा रहेका र डुबेका सहकारीका रूपमा वर्गीकरण गरी प्रतिवेदन पेस गर्न निर्देशन दिनुभयो ।
बिहान बालुवाटारमै भएको छलफलमा प्रधानमन्त्रीले प्रहरी समायोजनको प्रक्रिया छिटोभन्दा छिटो टुङ्ग्याउन पनि निर्देशन दिनुभएको छ । प्रधानमन्त्रीले नेपाल प्रहरी (प्रदेश प्रहरी कार्यसञ्चालन र समन्वय) ऐन २०७६ जारी भएको लामो समय बित्दासमेत समायोजन अघि नबढेको भन्दै १५ दिनभित्र समायोजनको प्रक्रिया टुङ्ग्याउन निर्देशन दिनुभएको प्रधानमन्त्रीको सचिवालयले उल्लेख गरेको छ ।


प्रतिक्रिया