रत्ननगर, २९ पुस । रत्ननगर उद्योग वाणिज्य संघको आयोजनामा टिकौली चौरमा जारी रत्ननगर महोत्सवमा पर्यटन विकासको लागि धार्मिक जिप सफारी सञ्चालन गरिएको छ ।
रत्ननगर नगरपालिका भित्र रहेका धार्मिक पर्यटकीय क्षेत्र प्रवर्द्धनको लागि धार्मिक जिप सफारी सुरु गरिएको छ । रत्ननगर नगपालिकासँग सहकार्य गरी महोत्सव अन्तर्गतको पर्यटन प्रवर्द्बन समिति र पञ्चनदी जलाधार क्षेत्र संरक्षण समितिले संयुक्त रुपमा धार्मिक जिप सफारी सञ्चालन गरिएको संघका सदस्य तथा पर्यटन प्रवर्द्धन समितिका संयोजक नेत्र गिरीले जानकारी दिनुभयो ।
महोत्सवमा अवलोकनका लागि आएका दर्शकहरुलाई गायत्री हरिहर मन्दिर, चिसापानी त्रिवेणी धाम, आत्मशान्ति गुम्बा, पञ्चकन्या देवी मन्दिर, धर्मधाम जिरौनाको अबलोकन गराउदै धार्मिक महत्वबारे प्रकास पारिएको पञ्चनदी जलाधार क्षेत्र संरक्षण समितिका सचिव सुवास घिमिरेले जानकारी दिनुभयो । २४ जना विदेशी पर्यटक सहित अन्य पर्यटकहरुलाई जिप सफारी गराइएको उहाँले जानकारी दिनुभयो । रत्ननगर महोत्सवको १२ औं संस्करणमा कृषि र पर्यटनलाई प्राथमिकता दिइएको छ । महोत्सवको मुख्य आकर्षण कृषि परिसर, सांस्कृतिक घर र मोटरबोट रहेका छन् ।
महोत्सवमा उद्योग, व्यापार, कृषि, पर्यटन, स्थानीय कला र संस्कृति सहित राष्ट्रिय, अन्तराष्ट्रिय तथा बहुराष्ट्रिय गरि करिब ४५० स्टलहरु रहने छन् । यस पटकको महोत्सवमा तीन लाख भन्दा बढी दर्शकहरुले अवलोकन गर्ने र करीब २५ करोडभन्दा बढिको कारोबार हुने अपेक्षा र अनुमान गरिएको संघका अध्यक्ष तथा महोत्सव मुल समारोह समितिका संयोजक शंकर गिरीले बताउनुभयो । विगतमा जस्तै महोत्सव अन्तर्गत आजदेखि रत्ननगरको सौराहाचोक वसपार्कमा पाँचौं रत्ननगर सांस्कृतिक खाना महोत्सव सुरु हुँदैछ । रत्ननगर महोत्सव माघ ८ गते सम्म सञ्चालन हुनेछ ।


प्रतिक्रिया