मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नारायणगढ–मुग्लिन सडक आजदेखि तीन हप्ता दैनिक चार घण्टा बन्द गरिँदै

नारायणगढ–मुग्लिन सडक आजदेखि तीन हप्ता दैनिक चार घण्टा बन्द गरिँदै

न्यूजस्टोरी

काठमाडौं, ७ पुस । नारायणगढ–मुग्लिन सडक खण्ड आजदेखि तीन हप्ता दैनिक चार घण्टा बन्द हुँदैछ । यो सडक खण्डको तुइन खोलामा पुल बनाउन दैनिक बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द गरेर काम गर्न लागेको नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) ले जनाएको छ ।

आजदेखि दैनिक चार घण्टा गाडी रोकिनेछन् । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का सूचना अधिकारी कृष्ण आचार्यका अनुसार नारायणगढबाट मुग्लिनतर्फ जाने यात्रुवाहक गाडी पन्ध्रकिलो बजारदेखि जुगेडीसम्म बिहान दश बजेर ४० मिनेटसम्म चलाउन पाइने छ । त्यस्तै, मालवाहक गाडी भतेरी जङ्गलदेखि रामनगरसम्म बिहान साढे १० बजेसम्म मात्र चलाउन पाइनेछ ।

काठमाण्डौबाट छुटेका यात्रुवाहक गाडी मुग्लिन बजारदेखि मनकामना केबुलकारसम्म बिहान दश बजेर ५५ मिनेटसम्म तथा मालवाहक दश बजेर ४५ मिनेटसम्म मात्र चलाउन पाइनेछ । त्यसैगरी, पोखरातर्फबाट आउने यात्रुवाहक गाडी बिहान दश बजेर ५५ मिनेटसम्म बेनिटारदेखि पावरहाउससम्म र मालवाहक बिहान दश बजेर ४५ मिनेटदेखि सत्रसय फाँटमा रोकिनेछ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले चार घण्टा गाडी रोकिने भएकाले वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरेको छ । ती क्षेत्रमा ट्राफिक जाम हुन सक्ने अवस्था छ । अघिल्लो वर्षपनि यो सडक खण्डमा पुल निर्माणका लागि पुस ५ गतेदेखि सडक बन्द गरेर पहाडको भित्ता काट्ने काम गरिएको थियो । तुइन खोलमा ६० मिटर अग्लो पहाडमध्ये अघिल्लो वर्ष २५ मिटर काटिएको थियो । बाँकी ३५ मिटर सडक अब काट्न लागिएको सूचना अधिकारी आचार्यले बताउनुभयो । यो सडकका १९ वटा पुलमध्ये चारवटा चार वर्ष अघि निर्माण भएका हुन् ।

आयोजनाले यो सडक खण्डमा प्याकेज बनाएर पुल निर्माणको काम गर्दै आएको छ । थप आठ वटा पुल दुई महिनाभित्रमा सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ । ती पुलको पहुँच मार्गको काम मात्र बाँकी छ।

काली, नम्सी, रिग्दी, सिमलताल, भोर्ले, खोर, खहरे र जुगेडी पुल दुई महिनाभित्रमा सञ्चालनमा आउने आयोजनाले जनाएको छ । तुइन खोलाको पुल निर्माणका लागि भित्तो विस्फोट गर्नुपर्ने भएकाले केही समय लाग्नेछ । यो पुल निर्माणका लागि पहाड नै काट्नुपर्ने भएपछि आजदेखि सडक बन्द गर्ने यसअघि सहमति भएको थियो ।

तीन हप्ता सडक बन्द गरेर पहाड काट्ने र पुलका लागि फाउण्डेशन तयार गर्ने निर्णय भएको चितवनका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले जानकारी दिनुभयो । नारायणगढ–मुग्लिन सडक काठमाण्डौ भित्रने र बाहिरिने मुख्य सडकका रुपमा रहेको छ । यो सडक हुँदै दैनिक १० हजारभन्दा धेरै गाडी गुड्छन् ।