मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तीनकुने क्षेत्रमा गाडी चल्न थाले, बल्खुमा सडकमै प्रदर्शनकारी

तीनकुने क्षेत्रमा गाडी चल्न थाले, बल्खुमा सडकमै प्रदर्शनकारी

न्यूजस्टोरी

काठमाडौं, ७ मंसिर । नेकपा एमालेको भातृ सङ्गठन, राष्ट्रिय युवा सङ्घ नेपाल र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका नामबाट व्यवसायी दुर्गा प्रसाईंको आह्वानमा काठमाण्डौमा छुट्टाछुट्टै प्रदर्शन र आमसभा गरेका छन् । युवा सङ्घले तीनकुनेमा र प्रसाईं समूहले बल्खुमा सभा तथा प्रदर्शन गरेका हुन् । प्रदर्शन र आमसभाका कारण बिहानदेखि नै तीनकुने र बल्खु क्षेत्रमा गाडी चल्न सकेका थिएनन् ।
युवा सङ्घको कार्यक्रम सकिएकाले अहिले तीनकुनेमा गाडी चल्न थालेका छन् । तर बल्खु क्षेत्रमा भने केही प्रदर्शनकारी अझै सडकमै रहेकाले गाडी चल्न सकेका छैनन् ।

यस्तै दिउँसो झडप हुँदा सडकमा ढुङ्गा र इँटा असरल्ल छरिएका छन् । प्रहरीका ब्यारिकेड पनि सडकमै हुँदा गाडी चल्न सकेका छैनन् । आज दिउँसो बल्खुमा दुई पटकसम्म झडप भएको थियो । बल्खुबाट प्रसाईंका समर्थक प्रहरीको घेरा तोडेर कालिमाटीतर्फ जान थालेपछि झडप भएको हो ।
प्रसाईंले अब सहर छिर्ने भन्दै घोषणा गरेपछि उत्तेजित भीडले प्रहरीलाई ठेल्दै कालिमाटीतर्फ जाने प्रयास गरेको थियो । प्रहरीले अश्रुग्यास र पानीको फोहरा हानेर भीडलाई नियन्त्रणमा लिएको छ ।

यस्तै दिउँसो केहीबेर बल्खुमा युवा सङ्घका कार्यकर्ता र दुर्गा प्रसाईं समर्थकबीच झडप भएको थियो । झडपमा केही गाडीमा तोडफोड भएको छ । ग्यारेजभित्र मर्मतका लागि राखिएका मोटरसाइकलमा समेत केही उच्छृङ्खल युवाले सडकमा ल्याएर तोडफोड गरेका थिए । ती युवा कुन समूहका हुन् भन्ने खुलेको छैन ।