काठमाडौं, मंसिर २ । सप्तमी तिथि भोलि भए पनि छठपर्व पर्सि सोमवारसम्मै मनाइने भएको छ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म छठ पर्व मनाउने गरिन्छ । यो परम्पराअनुसार हिजो चतुर्थीदेखि छठपर्व शुरु भएको छ । यसपालि तिथिको घटबढका कारण आज पञ्चमी र षष्ठी तथा भोलि षष्ठी र सप्तमी तिथि परेको छ । तिथि घटबढ भए पनि यसवर्ष पनि पहिलेजस्तै चार दिन नै छठ पर्व मनाउने तयारी भएको छ ।
भोलि सप्तमी तिथि भए पनि पर्सि सोमवार बिहान उदाउँदो सूर्यको पूजा आराधनासहित अर्घ्य दिएर छठ पर्व समापन हुने संस्कृतिविद्को भनाइ छ । छठ पर्वको मुख्य दिन भोलि अस्ताउँदो सूर्यलाई पूजा आराधनासहित अर्घ्य दिइन्छ । यसका लागि निराहार व्रत बसेका वर्तालुले भोलि रातभर छठ पूजास्थलमा जाग्राम बसेर उदाउँदो सूर्यको प्रतीक्षा गर्ने गर्छन् । छठ पर्वको दोस्रो दिन आज खरना गरिँदै छ । आजको दिन बिहानै घर आँगनको सफाइ गरी व्रत गरी बेलुकी सखरमा पकाएको खिर खाइन्छ । यस दिन ठेकुवा, भुसुवाजस्ता परिकार पनि बनाइन्छ । छठमा बाँसका सामग्री, उखु, केरा, सुन्तला, स्याउआदिको बढी प्रयोग गरिन्छ । छठ पर्व शुरु भएसँगै तराई मधेस र काठमाण्डौ उपत्यकाका नदी, तलाउ र जलाशय झकिझकाउ भएका छन् । जलाशयमा बनाइएका आकर्षक घाट र त्यहाँको चहलपहलले सबैलाई आकर्षित गरेको छ । मिथिला क्षेत्रका बासिन्दा सडक, ढल सफा गर्न जुटेका छन् । काम गर्न टाढा पुगेका परिवारजन पर्वका लागि घर आएका छन् । पर्वले सबै परिवारजन र आफन्तसँग भेटघाट गराएको छ ।


प्रतिक्रिया