काठमाडौं । मौलाकाली केवलकार औपचारिक रुपमा सञ्चालनमा आएको छ। प्रधानमन्त्री प्रचण्डले सोमबार गैडाकोट–१ मा रहेको मौलाकाली केवलकार बटम स्टेशनमा ताम्रपत्र अनावरण गर्दै केवलकार सञ्चालनको औपचारिक उद्घाटन गर्नुभएको हो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले शिथिल अर्थतन्त्रलाई उकास्न मौलाकाली जस्ता पर्यटकीय पूर्वाधारको महत्त्व रहने उल्लेख गर्दै सरकार निजी क्षेत्रलाई सहजीकरण गर्न प्रतिबद्ध रहेको बताउनुभयो ।
उहांले आर्थिक वृद्धि र रोजगारी सिर्जनामा निजी क्षेत्रको भूमिका ठूलो रहेको बताउँदै तनहूँ, नवलपुर र चितवन जिल्ला पर्यटकीय हब बन्दै गएको बताउँदै उहाँले यस क्षेत्रलाई आर्थिक सम्मृद्धिको क्षेत्रको रुपमा विकास गर्ने उल्लेख गर्नुभयो । त्यसैगरीगण्डकी प्रदेश प्रमुख पृथ्विमान गुरुङले मौलाकाली केवलकारको निमार्णसँगै यस क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा सहयोग पुग्ने विश्वाससमेत व्यक्त गर्नुभयो । उद्घाटन समारोहमा, मौलाकाली केबलकारका अध्यक्ष चन्द्र प्रसाद ढकालले देशको शिथिल अर्थतन्त्रलाई उकास्न पर्यटकीय पूर्वाधार निर्माणलाइ तिब्रता दिन र विकासका काम समयमै पूरा हुने वातावरण बनाउन आग्रह गर्नुभयो ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षसमेत रहनुभएका ढकालले निजी क्षेत्रले तोकिएको समयमा, तोकिएकै बजेटमा, तोकिएकै गुणस्तरमा काम गर्न सक्षम छौं भन्ने उदाहरण मौलाकाली केबल कारसमेतले प्रस्तुत गरेको दाबी गर्नुभयो । मौलाकाली केबलकार निर्माणकै रफ्तारमा अन्य पर्यटकिय पूर्वाधार र विकासमा काम सम्पन्न हुने हो भने अर्थतन्त्रमा देखिएको शिथिलता स्वतः कम हुदैं जाने अध्यक्ष ढकालले उल्लेख गर्नुभयो ।


प्रतिक्रिया