गैँडाकोट– नवलपुरको गैँडाकोटमा शुक्रबारदेखि मौलाकाली केवलकार सञ्चालनमा आएको छ।
नयाँ वर्षको अवसर पारेर शुक्रबार सेवा सुरु गरिएको मौलाकाली केवलकार व्यवस्थापन विभागका प्रमुख अभिषेक विक्रम शाहले जानकारी दिए।
शुक्रबार बिहान ६ बजेदेखि केवलकार सञ्चालनमा आएको हो। केवलकारको बटम स्टेशनबाट गैँडाकोट नगरपालिका–६ निवासी सय वर्षीया बृद्धा सरस्वती कँडेल र टप स्टेशनबाट नवलपुरका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले पहिलो यात्रुका रुपमा यात्रा गरे।
केवलकारमार्फत् मौलाकाली मन्दिरसम्म ५ मिनेटमै पुग्न सकिनेछ। करिब दुई किलोमिटर लामो केवलकारमा १२ वटा गोन्डोला रहेका छन्। हाल केवलकारले दुईतर्फी मूल्य ५५० रूपैयाँ कायम गरिएको शाहले जानकारी दिए।
उनका अनुसार केवलकारले ३ देखि ४ फिटसम्मका बालबालिकाका लागि ३३०, विद्यार्थीहरूका लागि ४१५, जेष्ठ नागरिकहरूका लागि ४१५ र फरक क्षमता भएकाहरूका लागि २७५ रूपैयाँको टिकट दर राखिएको छ।
केवलकारले ८० वर्षमाथिका बृद्धबृद्धा र ३ फिटभन्दा कमका बालबालिकाहरूका लागि निस्शुल्क सेवा दिने जनाएको छ।


प्रतिक्रिया