वासिङ्टन । अमेरिकाले युक्रेनलाई सर्वसाधारणको ज्यान लिनका लागि बदनाम ‘क्लस्टर बम’ पठाउने भएको छ । राष्ट्रपति जो बाइडेनले आफ्नो ‘निकै कठिन निर्णय’ को बचाऊ गरेका छन् । राष्ट्रपति बाइडेनले आफूलाई यो निर्णय लिन सहमत गराउन निकै समय लागेको तर युक्रेनमा गोलीगठ्ठा सकिनै लागेको कारण यो निर्णय लिन बाध्य भएको स्पष्टीकरण दिएका छन् ।युक्रेनका नेताहरुले यो ‘समयसापेक्ष’ कदमको स्वागत गरेका छन् भने रुसले वासिङ्टनको दोगलापनको विरोध गरेका छन् । क्लस्टर बम विश्वका १२० देशमा प्रतिबन्धित रहेको छ । बाइडेनले शुक्रबार सीएनएनसँग कुरा गर्दै आफ्ना सहयोगी राष्ट्रहरूलाई आफ्नो निर्णयबारे जानकारी गराइसकेको बताए । अर्को हप्ता लिथुयानियामा नेटोको सम्मेलनको आयोजना हुँदैछ । राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले शुक्रबार ह्वाइट हाउसको दैनिक प्रेस ब्रिफिङमा क्लस्टर बमबाट सर्वसाधारणमाथि हुनसक्ने खतराबारे सरकार जानकार रहेको बताउँदै यो बम पठाउन सकेसम्म ढिलाइ गरेको प्रष्टीकरण दिए । उनले युद्धको दौरान युक्रेनलाई कुनै पनि समय रक्षाविहीन अवस्थामा राख्न नसकिने बताए ।क्लस्टर बमबाट छरिने स–साना बमहरू जमिनमा पुगेर पनि नपड्कने समस्या देखिएको छ । यो लामो समय जमिनमा रहने र पछि मात्र पड्कने हुँदा यसबाट सर्वसाधारणलाई क्षति पुग्ने देखिएको छ । यसलाई बमको ‘डड–रेट’ पनि भनिन्छ । सुलिभानले भने अमेरिकी क्लस्टर बमको डड–रेट २.५ प्रतिशत मात्र रहेको तर रुसी बमको यही दर ३०–४० प्रतिशत रहेको भन्दै आफ्नो निर्णयको बचाऊ गरे ।तर, युद्धको सुरुमा ह्वाइट हाउसलाई रुसले युद्धमा कथित रुपमा क्लस्टर बम र भ्याकुम बमको प्रयोग गरेको बारे प्रश्न गरिएको थियो । त्यतिबेला तत्कालीन प्रेस सेक्रेटरीले यदि त्यो सत्य हो भने त्यो ‘युद्ध अपराध’ हुने बताएकी थिइन् । मार्टा हुर्टाडोले त्यस्तो बमको प्रयोग तत्काल बन्द गर्नुपर्ने र कुनै पनि ठाउँमा प्रयोग गर्न नहुने बताएकी थिइन् । –बीबीसी


प्रतिक्रिया