काठमाडौं । सत्ता बहिर्गमनको मुखमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिई संसदमा विश्वासको मतको सामना गर्ने निर्णय गरेका छन्
.बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा प्रचण्डले राजीनामा नदिने निर्णय सुनाएका हुन् । जसअनुसार उनले संसद्मा विश्वासको मतको सामना गर्नेछन् ।असार १७ गते राति दुई ठुला दल कांग्रेस र एमाले मिलेर सत्ता समीकरण बनाएपछि अल्पमतमा रहेका प्रधानमन्त्रीले संसद्मा विश्वासको मतको सामना गर्न लागेका हुन् । नयाँ समीकरण बनेसँगै एमालेले समर्थन फिर्ता लिइसकेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा), जनता समाजवादी पार्टी(जसपा) नेपाल, जनमत पार्टी(जपा), नागरिक उन्मुक्ति पार्टी(नाउपा), लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) लगायतले कांग्रेस–एमाले गठबन्धनलाई समर्थन गर्ने तयारीमा छन् । यद्यपि जसपा, जपा र नाउपाले सरकारलाई दिएको समर्थन अहिलेसम्म फिर्ता लिएका छैनन् ।
सत्ता घटक तेस्रो दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का मन्त्रीहरु बिहीबार राजीनामा दिन बालुवाटार गएपनि नदिई फर्किएका थिए । उनीहरूलाई प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने बेलासम्म पर्खिन आग्रह गरेकाले राजीनामा नदिएको रास्वपाका नेताहरूले बताएका छन् । सत्ता घटक अर्को दल एकीकृत समाजवादीले पनि सरकारबाट मन्त्री फिर्ता नबोलाउने निर्णय गरेको छ ।
यदि प्रधानमन्त्रीले नैतिकताका आधारमा राजीनामा नदिई संसदबाट विश्वासको मत लिएमा उनलाई माओवादी केन्द्रसहित रास्वपा र एकीकृत समाजवादीको मात्र समर्थन रहने देखिन्छ । संसदमा माओवादीको ३२, रास्वपाको २१ र एकीकृत समाजवादीको १० गरी कुल ६३ जना सांसद मात्र विश्वासको पक्षमा देखिएका छन् ।
एक सिट रहेको आम जनता पार्टी(अजपा), नेपाल मजदुर पार्टी(नेमकिपा), राष्ट्रिय जनमोर्चा(राजमो) र स्वतन्त्र दुई सांसद अहिलेसम्म कुनै पक्षमा खुलेका छैनन् ।


प्रतिक्रिया