काठमाडौं । प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा फरार जिबी राईलाई छिटो पक्राउ गर्न गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन् । आइतबार प्रतिनिधि सभा बैठकमा महामन्त्री विश्व प्रकाश शर्माले असार ४ गते गृहमन्त्री रवि लामिछानेले चितवन पुगेर राईको लोकेशन पत्ता लागिसकेको भनी दिएको अभिव्यक्तिको स्मरण गराउँदै चार दिन बितिसक्दा समेत राई किन पक्राउ परेनन् भनी प्रश्न गरे ।
‘देशलाई जिबीको लोकेसन चाहिएको होइन, जिबी चाहिएको हो,’ उनले थपे, ‘गृहमन्त्रीजीले लोकेसन पत्ता लाग्यो भनेको चार दिन भयो । प्रतिपक्षमा हुँदा उहाँले यहीँ सदनमा उभिएर सरकारले पक्रिनै चाहेन, चाहेको भए पक्रिन यतिका समय किन लाग्छ भनेर भन्नुभएको थियो । अब लोकेसन पत्ता लागिसकेपछि पनि चार दिन किन लाग्छ रु’ त्यसअघि उनले राईलाई पक्राउ नगरेर व्यवसायीक साथीलाई भगाउने नियत गृहमन्त्रीले राखेको हो कि भन्ने आशङ्का व्यक्त गरे । ‘संसारलाई थाहा छ गोरखा मिडियाका दुई जना सञ्चालकमध्ये एक जना फरार छन्, एक जना गृहमन्त्री हुनुहुन्छ । सहकारी ठगीमा फरार भएको व्यवसायीक साथीलाई सहकारी ठगीमै अनुसन्धानको दायरामा रहेका गृहमन्त्रीजीले गिरफ्तार गर्नु छ ।
त्यसैले लोकेशन पत्ता लागिसक्यो भनेर माइकबाटै फुक्नुको अर्थ के हुन्छ रु अभियुक्त पक्रिने के नयाँ शैली हो रु केटाकेटी पन हो या भगाउने नियत हो रु’ शर्माले भनेका छन् । मलेसियासँग सुपुर्दगी सन्धि नभएका कारण जिबी राईलाई पक्रिन कठिन भए पनि असम्भव भने नभएको धारणा शर्माको छ ।


प्रतिक्रिया