मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सडकमा महासेठको सेटिङ धन्दा, ओलीको नाममा २५ करोडको डिल

सडकमा महासेठको सेटिङ धन्दा, ओलीको नाममा २५ करोडको डिल

न्यूजस्टोरी

काठमाडौँ । सत्तामा हुँदा नीतिगत भ्रष्टाचारमा कीर्तिमान कायम गरेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकै संरक्षणमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री एवं एमाले सचिव रघुवीर महासेठले ४ अर्ब ८० करोड रुपैयाँको सडकको ठेक्का निश्चित ठेकेदारलाई दिने गरी सेटिङ गरेका छन् ।

मदन भण्डारी मार्गको सल्यान–रुकुम खण्डको ठेक्का मन्त्री महासेठसँग सेटिङ गरी प्रतिस्पर्धा नै नगराई कुमार श्रेष्ठको श्रेष्ठ कन्स्ट्रक्सनलाई दिन लागिएको छ । ठेक्काको बोलपत्र खोल्नुअघि नै सोमबार काठमाडौँको एक होटलमा ९ वटा ठेकेदार कम्पनीका संचालकहरु बसी सेटिङमा श्रेष्ठलाई दिने र अरु निर्माण ब्यवसायीलाई च्याँखे दिने, कुनैलाई अर्को ठेक्का सेटिङमा दिनेगरी सहमति भएको सडक विभागका एक प्राविधिक उपसचिवले बताएका छन् ।

ती उपसचिवका अनुसार मन्त्री महासेठले अध्यक्ष ओलीको नाममा ४ अर्ब ८० करोडको ५ प्रतिशत अर्थात् २५ करोड नै लिने डिल गरेका छन् । ठेक्का सेटिङ गर्न १० प्रतिशत खर्च गर्ने समझदारी भएपछि भौतिक मन्त्रालयले बुधबार (आज) उक्त सडक निर्माणको टेण्डर खोल्दैछ । ठेकेदार कुमारले नेकपा एकीकृत समाजवादीदेखि बालुवाटारमात्र होइन भौतिक मन्त्रालयका सचिव र सडक विभागका महानिर्देशकदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म मिलाएर बिना प्रतिस्पर्धा फुल रेटमा ठेक्का लिने गरी आज टेण्डर खोल्दै गरेको ती उपसचिवले बताए ।

उक्त सडक निर्माणका लागि स्वच्छ प्रतिस्पर्धा हुँदा राज्यलाई करिब १ अर्ब फाइदा हुन्छ । स्वच्छ प्रतिस्पर्धा हुँदा ३० प्रतिशतसम्म कम९बिलो०मा बोलपत्र प्रस्ताव पर्ने गरेको छ । तर भौतिक पूर्वाधार मन्त्री महासेठले प्रतिस्पर्धा हुन नदिई सेटिङ गरिसकेका छन् । त्यही सेटिङ अनुसार केही केही ठेकेदारहरुबीच एक डेढ प्रतिशत घटीबढी रकम उल्लेख गरी टेण्डर हाल्न लगाइ कुमार श्रेष्ठको श्रेष्ठ कन्ष्ट्रक्सनलाई दिने तयारी छ ।

भ्रष्टाचार नियन्त्रणका चर्का कुरा गर्दै आएका रवि लामिछाने गृहमन्त्री छन् । तर भ्रष्टाचार भने झन् बढी भइरहेको दृष्टान्त सल्यान–रुकम सडकको ठेक्कामा भएको सेटिङलाई लिन सकिन्छ । २०५२ साल फागुन १ गते भ्रष्टाचार र कुशासनको कहर सहन नसकेर माओवादीले हतियार उठाएको थियो । पछिल्ला वर्षमा भइरहेका नीतिगत भ्रष्टाचारले हतियार उठाउने अर्को शक्ति जन्मिने खतरा देखिन थालेको छ ।

तर पार्टी चलाउने भन्दै मन्त्रीहरु ठेक्कामा देशलाई अर्बौँ घाटा पार्ने र ब्यक्तिगत लाभ लिन तल्लीन छन् । रघुवीर महासेठ त्यसका एक ज्वलन्त उदाहरण हुन् । उनी यसअघि भौतिक मन्त्री हुँदा पनि हुलाकी सडकको २७ अर्ब बजेटमा आँखा गाडेर तत्कालीन आयोजना प्रमुख अशोक तिवारीलाई सेटिङमा ठेक्का दिन दबाब दिएका थिए ।

करोडौं रुपैयाँ खाने उद्देश्यले सेटिङ गरी ठेक्का दिन खोजे पनि सचिव केशव शर्माले अस्वीकार गरेपछि हुलाकी सडकको ठेक्का पारदर्शी रुपमा गरिएको थियो । ट्रान्सपरेन्सी इन्टरनेशनलको रिपोर्टअनुसार अहिलेसम्मकै सबैभन्दा भ्रष्ट सरकारको नेतृत्व गरेका ओलीको कृपामा यो पटक पनि भौतिक मन्त्री भएका महासेठले सडकका ठेक्कामा सेटिङको शरुआत सल्यान–रुकुम सडकबाट गर्न लागेका छन् ।