मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानन्यायाधीश नियुक्तिका लागि हरिकृष्ण कार्कीविरुद्ध १० दिनभित्र उजुरी आह्वान

प्रधानन्यायाधीश नियुक्तिका लागि हरिकृष्ण कार्कीविरुद्ध १० दिनभित्र उजुरी आह्वान

न्यूजस्टोरी

काठमाण्डौ । सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढेको छ । संवैधानिक परिषदबाट सर्वोच्च अदालतका लागि प्रधानन्यायाधीशमा सिफारिस भएका कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध १० दिनभित्र उजुरी आह्वान गरिएको छ । बैठकमा कार्कीको व्यक्तिगत विवरणसमेत समिति सदस्यहरुलाई प्रदान गरिएको छ ।

सार्वजनिक सूचना सरकारी सञ्चारमाध्यमबाट प्रकाशन हुनेछ । कार्कीमाथि लिखित रूपमा पत्रमार्फत् वा समितिले सार्वजनिक गर्ने इमेलमार्फत् उजुरी दिन सकिने छ । उजुरीकर्ताको परिचय उनीहरूको अनुरोधमा समितिले गोप्य राख्नेछ भने नाम विना आएका उजुरीलाई भने प्राथमिकता नदिनेबारे समितिमा छलफल भएको छ ।

समितिका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराको अध्यक्षतामा बसेको बैठकले सचिवालयबाट प्रस्ताव गरिएको संसदीय सुनुवाइ समितिको कार्यविधि २०८० को मस्यौदालाई परिमार्जनसहित पारित गरेको छ ।

जबराले नेपालको प्रधानन्यायाधीश पदको लागि सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीको नाम प्रस्ताव गरी संसदीय सुनुवाइको लागि न्याय परिषदबाट समिति समक्ष वैशाख २७ गते पत्र प्राप्त भएको र त्यो पत्र कार्कीको व्यक्तिगत विवरणको प्रतिलिपि समिति सदस्यहरुलाई वितरण गर्न सचिवालयलाई निर्देशन दिनुभयो ।

उहाँले संसदीय सुनुवाइ समितिको कार्यविधि २०८० को दफा १२ बमोजिम प्रस्तावित व्यक्तिको बारेमा नागरिकलाई जानकारी दिने र प्रस्तावित व्यक्तिको सम्बन्धमा कुनै सूचना भए सूचना उजुरी दिने प्रयोजनका लागि त्यस सम्बन्धी सूचना सरकारी सञ्चारमाध्यमबाट सार्वजनिक गर्ने विषयलाई अनुमोदन गरेको घोषणा गर्नुभयो ।

जबराले सुनुवाइको लागि समितिमा प्राप्त नाम नागरिकलाई जानकारी गराउने र प्रस्तावित व्यक्तिका सम्बन्धमा कुनै सूचना तथा उजुरी भए त्यस्तो सूचना वा उजुरी समिति समक्ष दिने प्रयोजनका लागि सरकारी सञ्चारमाध्यम र इमेल जस्ता विद्युतीय माध्यममार्फत् संसदीय सुनुवाइ समितिको कार्यविधि २०८० को दफा १२ अनुसार सूचना प्रकाशन गर्न समिति सचिवलाई निर्देशन दिनुभयो ।

गएको वैशाख २५ गते संवैधानिक परिषद्ले कार्कीलाई सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो । सार्वजनिक सुनुवाइका लागि वैशाख २७ गते त्यसको जानकारी संसद् सचिवालयलाई गराइएको थियो । कार्की झन्डै १५ महिनादेखि सर्वोच्चमा का.मु.प्रधान न्यायाधीशको रूपमा कार्यरत हुनुहुन्छ ।