काठमाडौं, १५ बैशाख । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले इलाम र बझाङमा शान्तिपूर्णरूपमा उपनिर्वाचन सम्पन्न भएकोमा सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।
आज एक विज्ञप्ति जारी गर्दै उहाँले इलाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ र बझाङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ (क) मा शान्तिपूर्णरुपमा उपनिर्वाचन सम्पन्न भएकोमा सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको हो । साथै, मतदाताको उत्साहपूर्ण सहभागिताबाट फेरि एकपटक नेपाली नागरिकको लोकतन्त्रप्रतिको अगाध र अविचलित आस्था अभिव्यक्त भएको पनि उल्लेख गर्नुभएको छ । सभापति देउवाले उपनिर्वाचनबाट आउने परिणामले मुलुकलाई लोकतान्त्रिक संस्कार र संस्कृतिमा आधारित समतामूलक एवं न्यायपूर्ण समाज निर्माणमा सहयोग गर्नेछ भन्ने विश्वास लिएको पनि विज्ञप्तिमा उल्लेख छ ।
“निर्वाचनमा संयम र धैर्यका साथ सरिक भई अमूल्य मत खसाल्नु भएकामा इलाम र बझाङका मतदाताप्रति आभार एवं कृतज्ञता व्यक्त गर्दछु । विज्ञप्तिमा उल्लेख गरिएको छ ।
त्यस्तै, शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन गराउन सफल भएकामा निर्वाचन आयोग, निर्वाचनमा अहोरात्र खटिएका राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय तथा निर्वाचनमा सहभागी राजनीतिक दल, सञ्चारकर्मीलगायतलाई पनि उनले धन्यवाद तथा आभार व्यक्त गर्नुभएको छ ।


प्रतिक्रिया