मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गाजामा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

गाजामा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

न्यूजस्टोरी

गाजामा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान गरेको छ । ‘सुरक्षा समन्वय तथा वार्ताका लागि’ मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डल इजरायलतर्फ प्रस्थान गरेको इजरायली सरकारनिकट स्रोतलाई उद्धृत गरी समाचार संस्था एएफपीले जनाएको छ ।

इजरायलका विभिन्न सञ्चारमाध्यमले इजिप्टको प्रतिनिधिमण्डलको भ्रमणअघि युद्धविराम र बन्धकमुक्त गर्ने नयाँ योजनाबारे छलफल भएको दाबी समेत गरेका छन् । दक्षिणी गाजाको रफाहमा हमास लडाकूविरुद्ध इजरायलले सैन्य कारवाहीको तयारी गरेका बेला मध्यस्थकर्ताको टोली वार्तामा जुट्दैछ । तर हमास पक्षले रफाहमा कुनै पनि प्रकारको आक्रमणबाट वार्तालाई नै खतरामा पार्ने सङ्केत गरेको छ ।

हमासका वरिष्ठ अधिकारी गाजी हमादले इजरायलले रफाहमा आफूले चाहेको कुरा हासिल गर्न नसक्ने बताउनुभएको छ । मुख्यगरी कतार, इजिप्ट र अमेरिकाले युद्धविराम र शान्ति वार्ताको मध्यस्थता गरेका छन् । तर गएको नोभेम्बरमा एक हप्ताका लागि युद्ध रोकिनुबाहेक त्यसपछि अहिलेसम्म कुनै सफलता प्राप्त हुन सकेको छैन । त्यसबेलमा इजरायली जेलमा रहेका २ सय ४० जना प्यालेस्टिनीको बदलामा ८० जना इजरायली बन्दीको आदानप्रदान भएको थियो ।

कतारका प्रधानमन्त्री मोहम्मद बिन अब्दुल रहमान बिन जसिम अल थानीले गएको हप्ता युद्धविरामको पहलबारे कतारले आफ्नो भूमिकाको पुनरावलोकन गरिरहेको बताउनुभएको थियो । गएको अक्टोबर ७ तारिखमा हमास लडाकु समूहको आक्रमणपछि युद्ध शुरु भएको थियो ।