शेखर छतकुली
पर्सा, १८ चैत्र । चीनबाट वीरगञ्ज आएर अनलाइन ठगीधन्दा चलाउने तीन चिनियाँ नागरिकलाई पर्सा प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । वीरगञ्ज महानगरपालिका १५ स्थित फ्ल्याट लिएर चिनियाँ नागरिकहरूले अनलाइन ठगीधन्दा चलाएको सूचना पाएपछि पर्सा प्रहरीले शनिवार साँझ छापा मारेको थियो । सो फ्ल्याटबाट दुई चिनियाँ नागरिक सहित सयौँ कम्प्युटरसहितका विभिन्न उपकरण पनि प्रहरीले बरामद गरेको छ । शनिवार राति नै थप एक चिनियाँलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका चिनियाँ र बरामद इलेक्ट्रोनिक उपकरण जिल्ला प्रहरी कार्यालय पर्सा, वीरगञ्जले सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा ३३ वर्षीय लिलु गुई चाइ, २६ वर्षीय वाङ बोहान र ३६ वर्षीय छिङ झाव छन् । उनीहरू नन्दु पटेलको घर भाडामा लिएर अनलाइन ठगीधन्दाको अफिस चलाएका थिए । पर्साका प्रहरी प्रवक्ता डिएसपी कुमार विक्रम थापाका अनुसार उनीहरूले चलाएको अवैध अफिसबाट कम्प्युटर डेक्सटप सिपियू १२० थान, मनिटर ११८ थान, मोबाइल ३५ थान, ल्यापटप ४ थान, प्रिन्टर १ थान, किबोर्ड २६ थान, इन्टरनेट स्वीच ५ थान, बाइफाई राउटर २ थान र मिनि इन्भर्टर २ थान बरामद भएको छ । पक्राउ परेका चिनियाँहरुले भारतीय मोबाइल सिम कार्ड प्रयोग गर्दै आएका थिए । उनीहरूबाट भारतीय जिओ सिम कार्ड १३ थान बरामद भएको डिएसपी थापाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो सामाजिक सञ्जाल र नम्बर मार्फत भारत, नेपालसहितका देशका नागरिकलाई ठगी गर्दै आएको खुलेको छ । थप अनुसन्धान हुँदैछ ।’ उहाँका अनुसार प्रिन्टर १ थान, विभिन्न बैंकहरूका एटिएम कार्ड ३ थान, भारतीय नम्बर प्लेट बिआर ०१ सिएक्स ५७९२ र प्र २–०३–०११ प १३६७ नम्बरको मोटरसाइकल बरामद भएको छ । बिभिन्न देशका मुद्राहरू (मलेशियन ३७ रिंगिट, नेपाली ५०० दरका ४३ हजार र कम्बोडियन ३५ सय) समेत बरामद भएको छ । अनलाइन ठगीधन्दा चलाएका चिनियाँको नेपाली र भारतीय नागरिकसँग समेत संलग्नता रहेको प्रहरीको अनुमान छ । भारतीय कम्पनीको सिम कार्ड र गाडी छ । त्यो कहाँबाट कसरी आयो ? पक्राउ परेका चिनियाँ नागरिकले यताको भाषा बुझ्दैन । तर यो ठाउँमा कसरी आए ?यो सबै विषयमा अनुसन्धान गरिरहेका छौँ ।’डिएसपी थापाले पत्रकार सम्मेलनमा भन्नुभयो ।



प्रतिक्रिया