शेखर छत्कुली
वीरगंञ्ज, ३ असोज । वीरगंजको घण्टाघर स्थित वीपी उद्यान पार्कभित्र रहेको पुरानो रेल्वे क्षेत्रलाई वीरगन्ज माहानगरले व्यवस्थित गर्दै पार्कको रूपमा विकास गर्ने योजना अघि बढाइएको छ ।
पार्क भित्रको रेल्वे क्षेत्रमा पुनः सरसफाइ तथा व्यवस्थापनको काम माहानगरका मेयर राजेश मान सिंहले सुरु गरेका छन् ।
वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहको निर्देशनमा शनिबार रेल्वे क्षेत्रको सरसफाइ गरिएको हो ।
वीरगन्जको घण्टाघर देखि उत्तर पट्टि रहेको विपी पार्कभित्र तीन महिनादेखि झाडी तथा फोहोरका कारण अस्तव्यस्त बनेको रेल्वे क्षेत्रमा माहानगरका मेयरको निर्देशनमा सरसफाइ गरी आगामी दिनमा रेल्वे पार्क निर्माणको काम अघि बढाउने तयारी महानगरले गरेको छ ।
वीपी उद्यानलाई हरित तथा सार्वजनिक मनोरञ्जन क्षेत्रका रूपमा विकास गर्ने महानगरको योजनाअन्तर्गत पार्कभित्र रहेका विभिन्न संरचना तथा क्षेत्रलाई व्यवस्थित गर्ने काम हुँदै आएको थियो ।
त्यसमध्ये रेल्वे क्षेत्रलाई ऐतिहासिक महत्व झल्किने तथा वीरगंजको पहिचानसँग जोडिने गरी रेल्वे पार्कका रूपमा विकास गर्ने अवधारणा महानगर प्रमुख सिंहले अघि सारेका थिए ।

रेल्वे पार्क निर्माणको प्रारम्भिक तयारीस्वरूप क्षेत्रको सरसफाइ, झाडी हटाउने तथा खाली स्थानलाई व्यवस्थित गर्ने काम अघि बढाइएको थियो । कामले गति लिइरहेका बेला गत जेठ २५ गते महानगर प्रमुख सिंह निलम्बनमा परेपछि पार्कभित्रको सरसफाइ तथा व्यवस्थापनको काम रोकिएको थियो । काम रोकिएपछि रेल्वे क्षेत्र पुनः झाडी र फोहोरले ढाकिँदै गएर अस्तव्यस्त बनेको थियो ।
सिंहले गत सोमबार विशेष अदालतबाट सफाइ पाएसँगै महानगरका रोकिएका कामलाई पुनः गति दिन थालेका छन् ।
त्यसक्रममा वीरगंजको सरसफाइ अभियानलाई तीव्रता दिनुका साथै वीपी उद्यानको रोकिएको कामलाई समेत अघि बढाउन निर्देशन दिइएको महानगरले जनाएको छ ।
रेल्वे क्षेत्रको सरसफाइसँगै अब पार्कको उक्त भागलाई थप व्यवस्थित बनाउँदै रेल्वे पार्क निर्माणको योजनालाई अघि बढाउने तयारी गरिएको छ ।
पार्कलाई हरियाली, मनोरञ्जन तथा ऐतिहासिक पक्षसँग जोडेर विकास गर्ने महानगरको योजनाअनुसार क्रमशः अन्य कामसमेत अघि बढाइने माहानगरले जनाइएको छ ।
वीरगंजको मुख्य तथा व्यस्त क्षेत्र घण्टाघर नजिकै रहेको वीपी उद्यानलाई व्यवस्थित र आकर्षक सार्वजनिक पार्कका रूपमा विकास गर्ने महानगरको योजना छ । पार्कको व्यवस्थित विकाससँगै सर्वसाधारणका लागि खुला तथा मनोरञ्जनको उपयुक्त स्थलका रूपमा स्थापित गर्ने लक्ष्य महानगरले लिएको छ ।
रेल्वे क्षेत्रमा गरिएको सरसफाइ कार्यक्रममा महानगरपालिकाका प्रमुख राजेशमान सिंह, प्रमुख प्रशासकीय अधिकृत बसन्तबहादुर बोहोरा, महानगरपालिकाका सरसफाइ शाखाको समेत उपस्थिति रहेको थियो ।


प्रतिक्रिया