किरण कुँवर
रत्ननगर,१९ माघ । रत्ननगर नगरपालिका–१ स्थित सडक किनारमा रहेको एक विद्युत् पोल ढल्किँदा सवारीसाधन चालक र पैदलयात्रीको ज्यान जोखिममा परेको छ। पोलमा अव्यवस्थित रूपमा टाँगिएका विद्युत् तारका कारण दुर्घटनाको सम्भावना बढ्दै गएको स्थानीयले बताएका छन्।
स्थानीयका अनुसार उक्त पोल विगत करिब १५ वर्षदेखि ढल्किएको अवस्थामै रहेको भए पनि सम्बन्धित निकायले कुनै चासो नदिएको गुनासो छ। यस टोलका उपाध्यक्ष गणेश पौडेलले वडा कार्यालय, रत्ननगर नगरपालिका तथा विद्युत् कार्यालयमा पटक–पटक जानकारी गराउँदा पनि समस्या समाधान नभएको बताए।
“यति लामो समयदेखि जोखिमयुक्त पोल यथावत् राखिनु लापरवाही हो,” उनले भने, “भोलि कुनै अप्रिय दुर्घटना भयो भने यसको जिम्मेवारी कसले लिन्छ ? विद्युत् कार्यालय, रत्ननगर नगरपालिका कि वडा कार्यालय ?”
सडक छेउमै ढल्किएको पोल र लत्रिएका तारका कारण विशेषगरी रातिको समयमा सवारी आवागमन थप जोखिमपूर्ण बनेको स्थानीयको भनाइ छ। टोल विकास संस्थाले समेत तत्काल पोल मर्मत वा स्थानान्तरण गर्न सम्बन्धित निकायसँग माग गरेको छ।
स्थानीय बासिन्दाले सम्भावित दुर्घटना हुनुअघि नै विद्युत् कार्यालय र नगरपालिकाले समन्वय गरी तुरुन्त समाधान निकाल्न आग्रह गरेका छन्। जोखिम न्यूनीकरणमा ढिलाइ भए मानवीय क्षति हुन सक्ने चेतावनी समेत उनीहरूले दिएका छन्।


प्रतिक्रिया