भोलि इजिप्टमा हुने गाजा शान्ति शिखर सम्मेलनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजिप्टका समकक्षी अब्देल फताह अल–सिसीले अध्यक्षता गर्नु हुने भएको छ । शिखर सम्मेलनमा संयुक्त राष्ट्रसङ्घका प्रमुखसहित २० भन्दा बढी देशका नेताहरूले पनि भाग लिने बीबीसीले जनाएको छ ।
रेड सी रिसोर्ट शहरमा हुने सम्मेलनको उद्देश्य गाजा पट्टीमा युद्धको अन्त्य गर्नु, मध्यपूर्वमा शान्ति र स्थिरता स्थापित गर्नु तथा क्षेत्रीय सुरक्षा र स्थिरताको नयाँ युगको शुरुआत गर्नु रहेको छ ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस, बेलायतका प्रधानमन्त्री किअर स्टार्मर, इटालीका प्रधानमन्त्री जर्जिया मेलोनी र स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले सहभागी हुने घोषणा गर्नुभएको छ ।
फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोन र टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगन र युरोपेली परिषद्का अध्यक्ष एन्टोनियो कोस्टा पनि सम्मेलनमा उपस्थित हुनु हुनेछ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले भाग लिने वा नलिने भन्नेबारे स्पष्ट जानकारी अहिलेसम्म सार्वजनिक गरिएको छैन ।
हमासले सम्मेलनमा भाग नलिने स्पष्ट पारेको छ । हमासको राजनीतिक ब्युरोका सदस्य होसाम बद्रानले एएफपीलाई दिएको अन्तर्वार्तामा प्यालेस्टिनी लडाकू समूह संलग्न नहुने र गाजामा अघिल्लो वार्ताका क्रममा मुख्य रूपमा कतारी र इजिप्टका मध्यस्थकर्ताहरूमार्फत काम भएको बताउनुभयो ।


प्रतिक्रिया