मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिकाले दक्ष कामदारलाई दिने एच–वान बी भिसाको शुल्क एक लाख डलर पुर्‍याइयो

अमेरिकाले दक्ष कामदारलाई दिने एच–वान बी भिसाको शुल्क एक लाख डलर पुर्‍याइयो

न्यूजस्टोरी

अमेरिकाले दक्ष विदेशी कामदारलाई दिने एच–वान बी भिसाको आवेदन शुल्क बढाएर एक लाख डलर पुर्‍याएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भिसाको आवेदन शुल्क एक हजार डलरबाट बढाएर एक लाख डलर पुर्‍याउने आदेशमा हस्ताक्षर गर्नुभएको बीबीसीले जनाएको छ ।

एच–वानबी भिसालाई अमेरिकी प्रविधि कम्पनीहरूले विदेशबाट दक्ष कर्मचारी भर्ना गर्न उपयोग गर्छन् । अमेरिकाले एच–वानबी भिसाको शुरुआत सन् १९ सय ९० देखि गरेको हो । अमेरिकी सरकारको तथ्याङ्क अनुसार पछिल्लो आर्थिक वर्षमा यस भिसा प्रणालीको सबभन्दा धेरै उपयोग अमेजन, टाटा, मेटा, एपल तथा गुगलजस्ता प्रविधि कम्पनीहरूले गरेका थिए ।

सन् २०२५ को पहिलो ६ महिनामा अमेजन डट कम र उसको क्लाउड कम्प्युटिङ इकाइले १२ हजारभन्दा धेरै एच–वानबी भिसाको मन्जुरी लिएका थिए । यस्तै माइक्रोसफ्ट र मेटाले पाँच हजारभन्दा धेरै मञ्जुरी लिएका थिए ।

यो भिसा खासगरी स्टेम भनिने विज्ञान, प्रविधि, इन्जिनियरिङ तथा गणितजस्ता क्षेत्रका प्रतिभाशाली कर्मचारीका लागी हो । जसको विकल्प अमेरिकाभित्र अभाव छ । पछिल्लो तथ्याङ्क अनुसार यो भिसा पाउनेमा ७२ प्रतिशत भारतीय र १२ प्रतिशत चिनियाँ नागरिक छन् ।

यसैले भिसा शुल्क बढाउने अमेरिकी निर्णयले अमेरिका र भारतबीच चलिरहेको व्यापार वार्ता थप तनावपूर्ण हुन सक्ने बीबीसीले जनाएको छ । यस्तै ट्रम्पले अर्को कार्यकारी आदेश जारी गरेर नयाँ गोल्ड कार्डको स्थापना गर्नुभएको छ ।

जस अनुसार १० लाख डलर शुल्क तिरेपछि आप्रवासीहरूले भिसा द्रुत गतिमा पाउँछन् । ठूलो धनराशि तिरेर गोल्ड कार्डमार्फत अमेरिकामा बस्न र काम गर्न पाइने ट्रम्पले बताउनुभएको छ । यसलाई स्थायी बसोबासको अनुमति पत्र ग्रीन कार्डजस्तै भनिएको छ ।