मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ट्रम्पले लगाएको कतिपय ट्यारिफ अवैध भएको अमेरिकी अदालतको फैसला

ट्रम्पले लगाएको कतिपय ट्यारिफ अवैध भएको अमेरिकी अदालतको फैसला

न्यूजस्टोरी

अमेरिकाको एउटा पुनरावेदन अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको कतिपय ट्यारिफ वा अन्य देशका आयातमा लगाइएको शुल्क अवैध भएको फैसला सुनाएको छ ।

फैसलाले ट्रम्पले ‘पारस्परिक ट्यारिफ’ भनेर विश्वभरका धेरैजसो देशमा लगाएका शुल्कका साथै चीन, मेक्सिको र क्यानडामा लगाएका अन्य ट्यारिफलाई समेट्छ । तर यो फैसलाले स्टील र अल्युमिनियमको आयातमा लगाइएका अन्य ट्यारिफलाई छुँदैन किनभने ती ट्यारिफ राष्ट्रपतिको भिन्नै अधिकारअन्तर्गत लगाइएका थिए ।

साना व्यवसायी तथा अमेरिकी राज्यहरूको समूहले दायर गरेको दुईवटा मुद्दाको सुनुवाइका क्रममा पछिल्लो फैसला आएको हो । अमेरिकाको कोर्ट अफ अपिल्स फर द फेडरल सर्किटले बहुमत न्यायाधीशको निर्णयमा राष्ट्रपति ट्रम्पले आपत्कालीन आर्थिक अधिकारसम्बन्धी कानूनले आफूलाई ट्यारिफ लगाउन अनुमति दिएको भनेर गरेको तर्कलाई अमान्य भनिदिएको छ ।

अदालतले ट्यारिफ लगाउने कार्य राष्ट्रपतिको कार्यादेश अन्तर्गत नपर्ने भन्दै शुल्क तोक्ने विषय अमेरिकी कङ्ग्रेस अर्थात् संसदको मूल अधिकार क्षेत्रमा पर्ने भनेको छ । ट्रम्प प्रशासनलाई फैसलाविरुद्ध सर्वोच्च अदालतमा जान समय दिनका लागि यो फैसला आउँदो अक्टोबर १४ तारिखसम्म लागू नहुने बीबीसीले जनाएको छ ।

अदालतको फैसलालाई लिएर राष्ट्रपति ट्रम्पले चर्को आलोचना गर्नुभएको छ । उहाँले ट्रुथ सोसलमा यदि यो फैसलालाई यत्तिकै रहन दिने हो भने यसले अमेरिकालाई हानी पुर्‍याउने बताउनुभएको छ ।