अमेरिका । अमेरिकाको सबैभन्दा पुरानो विश्वविद्यालय तथा विश्वका विद्यार्थीहरूको आकर्षणको केन्द्र मानिएको हार्वर्डमा विदेशी विद्यार्थी भर्नामा रोक लगाइएको छ। ट्रम्प प्रशासनले विश्व विद्यालयसँग बढ्दो असमझदारीबिच अन्तर्राष्ट्रिय विद्यार्थी भर्नामा रोक लगाइदिएको हो।
अमेरिकाको आन्तरिक मामिला हेर्ने मन्त्रालय डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीकी प्रमुख क्रिस्टी नोमले सामाजिक सञ्जाल एक्समा एक पोस्ट गर्दै विदेशी विद्यार्थी भर्नामा रोक लगाएको उल्लेख गरेकी छिन्। उनले भनिन्,’कानुनसम्मत काम गर्न विफल भएकाले हार्वर्डको स्टुडेन्ट एन्ड एक्सचेन्ज भिजिटर प्रोग्राम सर्टिफिकेशन खारेज गरिएको छ’ उनी अगाडी लेख्छिन् ‘यो देशभरिका सबै विश्वविद्यालय तथा शैक्षिक केन्द्रहरूका निम्ति एक चेतावनी पनि हो’
उनले हार्वर्डले हिंसा तथा यहुदीविरोधी भावना फैलन सहयोग गरेको तथा उसका क्याम्पसहरुले चिनियाँ कम्युनिस्ट पार्टीसँग समन्वय गरेको आरोप नोमले लगाएकी छन्। साथै उनले भर्ना भइसकेका विदेशी विद्यार्थीहरूले अब अन्य विश्वविद्यालयमा ‘ट्रान्सफर’ लिनु पर्ने बताइन्।
हार्वर्डले भने सरकारको उक्त कदम ‘गैरकानुनी’ भएको प्रतिक्रिया दिएको छ। उसले भन्यो ‘१४० भन्दा धेरै देशबाट आएका अनि विश्वविद्यालय तथा यस देशलाई अथाह हिसाबले समृद्ध बनाएका अन्तर्राष्ट्रिय विद्यार्थी तथा शोधकर्ताहरूलाई निम्त्याउन सक्ने हार्वर्डको क्षमता कायम राख्न हामी पूर्ण कटिबद्ध छौँ।’ विश्वविद्यालयले भन्यो ‘हाम्रा विद्यार्थीहरुलाई मार्गदर्शन र सहयोग गर्न हामी चाँडो काम गरिरहेका छौँ। यो बदलाले हार्वर्ड समुदाय र देशलाई गम्भीर हानि पुर्यायएको छ र हार्वर्डको प्राज्ञिक तथा शोधकार्यलाई बेवास्ता गरेको छ।’
ट्रम्प प्रशासनको निर्णयले उक्त विश्वविद्यालयमा अध्ययनरत हजारौँ अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई प्रभाव पर्न सक्ने जनाइएको छ। गत शैक्षिक वर्ष हार्वर्डमा ६,७०० विदेशी विद्यार्थी भर्ना भएको आँकडा विश्वविद्यालयले दिएको छ। उसको कुल विद्यार्थी सङ्ख्याको त्यो २७% हो। सरकारको कदमबारेको समाचार बिहीवार फैलिएसँगै हजारौँ विद्यार्थीहरूमाझ त्रास र निराशा फैलियो। अचानक ती विद्यार्थीका भविष्य अनिश्चयमा परेको बताइएको छ।
‘हामी धेरै भ्रम र अनिश्चयमा परेका छौं’ स्नातक पढ्दै गरेकी अस्ट्रेलियाली विद्यार्थी स्यारा डेभिजले बीबीसीसँग भनिन्। उनले अगाडी थपिन ‘हामीमध्ये कैयौँका निम्ति यो समाचार ग्राजुएट हुन लागेको पाँच दिन अगाडिमात्र आएको छ। स्वाभाविक रूपमा यसले धेरै अनिश्चयपूर्ण अवस्था सिर्जना गरेको छ।’ उनले थपिन् ‘अब हामी यसपछि अमेरिकामा रहन वा काम गरिरहन पाउने छौँ या छैनौँ।’
ट्रम्प प्रशासनले दर्जनौँ विश्वविद्यालयहरूमा छानबिन गरेको छ अनि न्यूयोर्कको कोलम्बिया विश्वविद्यालयसहित कतिपयलाई आफ्ना नीति मान्न बाध्य पार्न सफल भएको छ। तर एप्रिलमा हार्वर्ड पहिलो विश्वविद्यालय बन्यो जसले ट्रम्प प्रशासनको भनाइ मानेन र उल्टै मुद्दा हाल्यो। प्रशासनले आफ्ना मागहरूका लामो सूची पठाएको थियो। पछि त्यो सूची गल्तीले पठाइएको ह्वाइट हाउसले भनेको थियो।
उसले हार्वर्डलाई क्याम्पसमा हुने यहुदीविरोधी भावनासँग लड्न भर्ना, अध्यापनसहितका अभ्यासहरूमा परिवर्तन गर्न भनेको थियो। नत्र विश्वविद्यालयको करछुट पाउने हैसियत उल्ट्याइदिने तथा अर्बौँ डलरको कोष रोक्का गरिदिने धम्की प्रशासनले दिएको थियो।
यो वर्षको सुरुमा हार्वर्डले यहुदीविरोधी भावनालाई सम्बोधन गर्न आफूले कदमहरू चालेको बताएको थियो र सरकारका मागहरूलाई ‘विश्वविद्यालयको बौद्धिक परिस्थिति’ नियन्त्रण गर्ने प्रयास भनेको थियो। सम्भवत यो निर्णको विरुद्धमा हार्डवर्डले अदालतमा पुन मुद्दा दायर गर्ने छ।


प्रतिक्रिया