मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तारकेश्वरमा नक्कली कागजात उत्पादन केन्द्रमा प्रहरीको छापा, तीन जना पक्राउ

तारकेश्वरमा नक्कली कागजात उत्पादन केन्द्रमा प्रहरीको छापा, तीन जना पक्राउ

न्यूजस्टोरी

काठमाडौं। तारकेश्वर नगरपालिका–७ स्थित फुटुङमा सञ्चालनमा रहेको नक्कली कागजात उत्पादन गर्ने केन्द्रमा प्रहरीले छापा मारेको छ। विभिन्न सरकारी, गैरसरकारी कार्यालय, स्थानीय तह, बैंक तथा वित्तीय संस्थासँग सम्बन्धित कागजातहरू कीर्ते गरी उत्पादन हुने उक्त स्थानबाट तीन जना पक्राउ परेका छन्।

महानगरीय अपराध महाशाखाको टोलीले बुधबार गरिएको अपरेसनमा गोरखा भीमसेन थापा गाउँपालिका–१ की अञ्जनी बयलकोटी, ओखलढुंगा चम्पादेवी गाउँपालिका–७ का निर्मल खड्का र मकवानपुर कैलान गाउँपालिका–२ की अञ्जु खत्रीलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार बयलकोटीले विगत आठ वर्षदेखि विभिन्न किसिमका सरकारी सिफारिस, शैक्षिक प्रमाणपत्र, जग्गाधनी पूर्जा, सवारी चालक अनुमति पत्र, वैवाहिक दर्ता प्रमाणपत्र, बैंक स्टेटमेन्ट लगायतका कागजातहरू नक्कली बनाउने काम गर्दै आएकी थिइन्। उनले यो कार्यका लागि भाडामा लिएको कोठामा दुई जनालाई मासिक १० र १५ हजार रुपैयाँमा जागिर दिएर काम लगाउने गरेको खुलेको छ।

अनुसन्धानबाट जापान लगायतका देशमा जाने विद्यार्थी तथा श्रमिकका लागि नक्कली शैक्षिक प्रमाणपत्र, अनुभवको पत्र, सहकारी संस्था तथा बैंकका स्टेटमेन्टसमेत तयार पारिने गरेको पाइएको छ। त्यस्तै, विदेशमा बसोबास गर्ने नेपाली नागरिकहरूको पीआर तथा ग्रीन कार्डका लागि मनमोहन मेमोरियल अस्पताल, सल्यान जिल्ला अस्पताल र वीर अस्पतालका नक्कली मेडिकल कार्डसमेत बनाउने कार्यमा संलग्नता देखिएको छ।

प्रहरीले कागजातहरू तयार पार्न प्रयोग गरिएका कम्प्युटर, प्रिन्टर, छाप तथा अन्य उपकरणहरू बरामद गरेको जनाएको छ। यस विषयमा थप अनुसन्धान जारी रहेको बताइएको छ।