मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बारामा ३६७ किलोभन्दा बढी गाँजासहित पाँच जना पक्राउ

बारामा ३६७ किलोभन्दा बढी गाँजासहित पाँच जना पक्राउ

न्यूजस्टोरी

बारा, ५ वैशाख । बारा प्रहरीले ठूलो मात्रामा लागू औषध गाँजासहित पाँच जनालाई पक्राउ गरेको छ। लागू औषध ओसारपसार तथा विक्री वितरणमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिन सक्रिय बनेको जिल्ला प्रहरी कार्यालय, बाराले तीन छुट्टाछुट्टै स्थानबाट ३६७ किलो १४० ग्राम गाँजा बरामद गरेको हो।

प्रहरीका अनुसार पहिलो घटना वैशाख ४ गते राति करिब ११:४५ बजे जीतपुर सिमरा उपमहानगरपालिका–३ बजनीस्थित सडकखण्डमा भएको थियो। विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय, सिमराबाट खटिएको टोलीले हेटौडाबाट वीरगञ्जतर्फ गइरहेको ना ५ ख २५०४ नम्बरको मिनी ट्रक जाँच गर्दा ट्रकभित्र लुकाइएका १९ पोका गाँजा (करिब ३०५ किलो) फेला पारेको हो।

उक्त ट्रकमा सवार तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुरको कैलास गाउँपालिका–४ का ३२ वर्षीय ट्रक चालक राजन लामा, हेटौंडा उपमहानगरपालिका–३ का ३३ वर्षीय ईश्वर लोप्चन, र कैलास गाउँपालिका–१० का २७ वर्षीय जीवन ठोकर रहेका छन्।

त्यसैदिन बिहान करिब ८:३० बजे प्रसौनी गाउँपालिका–४ स्थित खुटवामा इलाका प्रहरी कार्यालय, प्रसौनीबाट खटिएको टोलीले ३१ वर्षीय पवन कुमार साहको घरमा विक्री वितरणको उद्देश्यले लुकाइएको २ किलो १४० ग्राम गाँजा फेला पारी उनलाई पनि नियन्त्रणमा लिएको जनाएको छ।

त्यसैगरी, वैशाख ५ गते बिहान करिब २:३० बजे पचरौता नगरपालिका–१ मुसहरी टोलस्थित मकैबारी क्षेत्रमा इलाका प्रहरी कार्यालय, सिम्रौनगढबाट खटिएको टोलीले टाउकोमा गाँजाका पोका बोकी नेपालबाट भारततर्फ लैजाँदै गरेका भारत, बिहार राज्य मोतिहारी जिल्ला रेगनिया गाउँका २५ वर्षीय राजबिहारी कुमारलाई पक्राउ गरेको हो। उनको साथबाट करिब ६० किलो गाँजा (४ पोका) बरामद गरिएको छ।

जिल्ला प्रहरी कार्यालय, बाराका अनुसार सबै घटनामा संलग्न व्यक्तिहरूलाई लागू औषधसम्बन्धी कसुरमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ। प्रहरीले लागू औषध नियन्त्रणमा ‘शून्य सहनशीलता’ (Zero Tolerance) नीतिअनुसार निगरानी र कारबाही अझ कडा बनाइएको जनाएको छ