मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पार्टी एकढिक्का भए कांग्रेसले यहि प्रणालीमा पनि बहुमत ल्याउन सक्छ – देउवा

पार्टी एकढिक्का भए कांग्रेसले यहि प्रणालीमा पनि बहुमत ल्याउन सक्छ – देउवा

न्यूजस्टोरी

पोखरा । सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी एकढिक्का भए एकल बहुमत ल्याउन सक्ने दावी गरेका छन् । पोखरामा आयोजित कांग्रेसको ‘संगठन र समसामयिक सन्दर्भमा अभिमुखीकरण’ कार्यक्रम उद्घाटन गर्दै सभापति देउवाले यस्तो बताएका हुन् ।

उनले यही निर्वाचन प्रणालीमा पनि बहुमत ल्याउन सकिने बताए । त्यसका लागि पार्टीका सबै नेताबीच एकता हुनुपर्ने तथा पार्टीलाई एकढिक्का बनाउनुपर्ने सभापति देउवाको भनाइ छ । संविधानले अपनाएको मिश्रित निर्वाचन प्रणालीमा कुनै पनि दलले बहुमत ल्याउन नसक्ने भन्दै कांग्रेसकै कतिपय नेताले निर्वाचन प्रणाली बदल्नुपर्ने धारणा व्यक्त गर्ने गरेका छन् ।

तर, पोखरामा पार्टीले आयोजना गरेको प्रशिक्षण कार्यक्रम उद्घाटन कार्यक्रममा देउवाले सहज नभए पनि असम्भव नभएको बताए । सभापति देउवाले आफ्ना मतभेदहरू बिर्सिएर पार्टीमा एकता स्थापित गर्न सबै नेताहरू लागे पार्टीलाई बहुमत दिलाउन सकिने दोहोर्‍याए । बिपी कोइराला, गणेशमानसिंह श्रेष्ठ, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला जस्ता नेताले सुम्पिएको जिम्मेवारी अहिलेको नेतृत्वको काधमा आएको भन्दै देउवाले त्यो जिम्मेवारी पूरा गर्नका लागि पनि पार्टीभित्र एकता जरुरी रहेको बताए ।