मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रवि लामिछानेविरुद्ध ११ सरकारी वकिलले बहस गर्ने

रवि लामिछानेविरुद्ध ११ सरकारी वकिलले बहस गर्ने

न्यूजस्टोरी

काठमाडौं । काठमाडौंस्थित स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन मुद्दामा प्रतिवादी बनाइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको थुनछेक बहस आज (सोमबार) देखि हुँदैछ । काठमाडौं जिल्ला अदालतमा आइतबार लामिछानेको बयान मात्रै भएको थियो ।

लामिछाने आइतबार नै काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका थिए । त्यसपछि बयानमै समय लम्बिएपछि थुनछेक बहस सोमबारका लागि सारेर लामिछानेलाई प्रहरीको जिम्मा लगाइएको थियो । आज बिहान ११ बजेदेखि न्यायाधी माधवप्रसाद अधिकारीको इजलासमा लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने कि धरौटीमा छाडेर मुद्दाको पुर्पक्ष गर्ने भन्ने विषयमा पक्ष विपक्षी वकिलहरूले बहस गर्ने छन् ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका न्यायाधिवक्ता खडिन्द्रराज कटुवालका अनुसार थुनछेक बहसमा ११ जना सरकारी वकिलले बहस गर्नेछन् । सहन्यायाधीवक्ता रामहरि शर्मा काफ्लेसहित ११ जना सरकारी वकिलले बहस गर्ने कटुवालले जानकारी दिए । सरकारी वकिलले बहस सकेपछि प्रतिवादी पक्षका वकिलहरूले बहस गर्नेछन् । प्रतिवादी लामिछानेको पक्षबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ र सुशील पन्तले बहस गर्नेछन् ।

त्यसपछि पुनः सरकारी वकिलले जबाफी बहस गरेपछि न्यायाधीशले आदेश गर्नेछन् । आइतबार लामिछाने पक्षका वकिलहरूले रातिसम्मै गरेर भए पनि थुनछेक बहस सक्नुपर्ने माग गरेका थिए । आजै दुवै पक्षको बहस र जबाफी बहस सकिएको खण्डमा न्यायाधीशले आदेश गर्नेछन् । स्वर्णलक्ष्मी सहकारीकै मुद्दामा प्रतिवादी रहेका २ जना यसअघि नै धरौटी तिरेर छुटिसकेका छन् ।

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा सरकारी वकिलको कार्यालय पुस २१ गते लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो । यो मुद्दामा एक अर्ब १९ करोड ४९ लाख २१ हजार २७० रूपैयाँ बिगो माग गरिएको छ। लामिछाने र उनी र गोर्खा मिडियाका तत्कालीन सञ्चालक जिबी राईको हकमा पाँच करोड ८ लाख ६९ हजार ६ सय ३३ रूपैयाँ संयुक्त बिगो मागदाबी गरिएको छ ।