मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कास्कीमा फेरि ‘अघोषित निषेधाज्ञा’ !अदालत क्षेत्रमा सुरक्षा व्यवस्था कडा

कास्कीमा फेरि ‘अघोषित निषेधाज्ञा’ !अदालत क्षेत्रमा सुरक्षा व्यवस्था कडा

न्यूजस्टोरी

पोखरा । कास्कीमा अघोषितरूपमा फेरि ‘निषेधाज्ञा’ लगाइएको छ । सूर्यदर्शन सहकारी प्रकरणको थुनछेक बहस अन्तिम चरणमा पुगेका बेला अघोषितरूपमा निषेधाज्ञा लगाइएको हो । जिल्ला प्रशासन कार्यालय अगाडिको राष्ट्रबैंक चोक, वाइचोक, सहिद चोक क्षेत्रमा सवारीसाधन चल्न रोक लगाइएको छ ।

तर, जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा नभएर सुरक्षा व्यवस्था कडा पारिएको जनाएको छ । प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले सम्भावित सुरक्षा चुनौतीका कारण सुरक्षा व्यवस्था कडा पारिएको बताए । अदालतको आदेश आउने दिन हुन सक्ने सम्भावित जोखिमलाई टार्न प्रशासनले मंगलबारदेखि नै संवेदनशील प्रशासन, अदालत क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ । सूर्यदर्शन सहकारीको बचत अपचलन प्रकरणमा प्रतिवादीमाथिको थुनछेक बहस जिल्ला अदालत कास्कीमा जारी छ । कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, पूर्वडीआईजी छविलाल जोशी, लिला पछाईंको बहस सकिइसकेको छ ।

अब रामबहादुर खनाल, कृष्ण गुरुङ, मीना गुरुङ र आरती गुरुङका कानून व्यवसायीको थुनछेक बहसमात्र बाँकी छ ।
मंगलबार लामिछानेको थुनछेक बहस सकिएपछि रास्वपाका समर्थकहरूले अदालत बाहिर प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस महामन्त्री गगनकुमार थापाविरुद्ध नाराबाजी गरेका थिए ।

जिल्ला अदालत कास्कीको अगाडि वडा प्रहरी कार्यालय बैदाम छ । त्यस क्षेत्रमा प्रहरीले सर्वसाधारणलाई रोकिनसमेत दिँदैन । तर, मंगलबार प्रहरीकै अगाडि नाराबाजी भयो ।स्रोतका अनुसार, बुधबार प्रतिवादीतर्फका कानून व्यवसायीको थुनछेक बहस सकिनेछ । बिहीबार सरकारी वकिलको कार्यालयले जवाफी बहस गरेपछि बिहीबार नै अदालतले आदेश गर्ने सम्भावना छ ।

यस्तो स्थितिमा रास्वपाका समर्थकहरूको बाक्लो उपस्थिति रहने आकलन सुरक्षाकर्मीको छ । यता, सहकारीपीडित पनि प्रदर्शनमा उत्रिन सक्ने आकलन गरिएको छ ।यसअघि, गत कात्तिक ४ गते लामिछानेलाई अदालतमा म्याद थपका लागि लैजाने क्रममा रास्वपाको कार्यकर्ताको बाक्लो उपस्थिति थियो । त्यतिबेला भिड नियन्त्रण गर्न प्रहरीले पानीको फोहोरा र अश्रुग्यास नै प्रयोग गर्नुपरेको थियो ।

सोही दिन १२ बजेतिर जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको थियो । तर, त्यतिबेलासम्म निषेधित क्षेत्रभित्र सयौँको संख्यामा रास्वपाका नेता कार्यकर्ता प्रवेश गरिसकेका थिए । त्यतिबेला प्रशासनले जारी गरेको निषेधाज्ञा दुई महिनासम्म रह्यो । गत पुस ९ गतेमात्र निषेधाज्ञा हटाइएको थियो ।