मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रविधि क्षेत्रको नियामक नेपाल दूरसञ्चार प्राधिकरणकै वेबसाइट ह्याक

प्रविधि क्षेत्रको नियामक नेपाल दूरसञ्चार प्राधिकरणकै वेबसाइट ह्याक

न्यूजस्टोरी

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको वेबसाइट एक हप्तादेखि इन्डोनेसियाली ह्याकरको कब्जामा रहेको पाइएको छ । इन्डोनेसियाली ह्याकरको समूह ‘मनाडो मेगा टिम’ले वेबसाइट एक सातादेखि नियन्त्रणमा लिएको हो ।

ह्याकरले प्राधिकरणको वेबसाइट नियन्त्रणमा लिएर अनलाइन सट्टेबाजी प्लेटफर्मको विज्ञापन गरिरहेका छन् । नेपालमा अनलाइन बेटिङ प्लेटफर्म अवैध छ । इन्टरनेटमा यस्ता अवैध साइट बन्द गर्ने निर्देशन दिने निकाय प्राधिकरण हो । ह्याकरले यही निकायको वेबसाइट ह्याक गरी त्यसैमा खुलेआम बेटिङ साइटको प्रचार गरेको हो ।

प्रचार भइरहेको बेटिङ प्लेटफर्म ‘आईडेटोटो’ हो । यस प्लेटफर्मले आफूलाई हङकङ, सिङ्गापुर र सिड्नीको सबैभन्दा ठूलो सट्टेबाजी साइट भएको दाबी गरेको छ । प्राधिकरणको मुख्य डोमेन ‘nta.gov.np’ को पेज ‘Source’ भित्र यस्ता विज्ञापनका सयौं पेजहरू राखिएका छन् । एउटा पेजमा त इन्डोनेसियाली गीत राखिएको छ । त्यसको क्याप्सनमा इन्डोनेसियाली भाषामै लेखिएको छ, “यो सानो मन तिमीलाई रोक्न सक्दैन, जब तिमीलाई अरूसँग देख्छु। तर, म बुझ्छु कि म तिम्रो कोही पनि होइन…।”

गुगलमा ‘site:nta.gov.np/source/’ सर्च गर्नुभयो भने ह्याकरले तीन सयभन्दा बढी पेजमा अनलाइन बेटिङको विज्ञापन राखेको देखिन्छ ।

एक साइबर सुरक्षा अनुसन्धानकर्ताका अनुसार ह्याकरले प्राधिकरणको कुनै पेजभित्र कमजोरी पत्ता लगाएर त्यसैबाट मुख्य साइटमा पुगेका हुनसक्ने देखिएको छ । “३०० भन्दा बढी पेजमै अनलाइन बेटिङको प्रचार भइरहेको छ,” उनले भने, “यो मुख्य वेबसाइट ह्याक नगरी सम्भव हुँदैन ।”

गुगल सर्चमा बेटिङको प्रोमोसन भएको लिङ्क छ दिनअघि राखिएको देखिन्छ । त्यसैका आधारमा ह्याकरले एक हप्तादेखि नियन्त्रणमा लिएको अनुमान गरिएको छ । प्राधिकरण नेपालको दूरसञ्चार क्षेत्रको नियामक निकाय हो ।