काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा भारतको नयाँदिल्लीबाट आज स्वदेश फर्कने भएकी छन् । उनी बाइल्याटरल टोटल हिप रिप्लेस्मेन्ट (टिएचआर) को ‘फलो अप’ स्वास्थ्य परीक्षणका लागि गत शुक्रबार भारत गएकी थिइन् ।
युरोपबाटै त्यहाँ पुगेकी उनले शनिबार र आइतबार स्वास्थ्य परीक्षण गराएको सचिवालयले जानकारी दिएको छ । उनी १७ दिनपछि आज साँझ स्वदेश फर्कन लागेकी हुन् । शुक्रबार भने उनले भारतको नयाँ दिल्लीमा आयोजित भारत नेपाल आर्थिक सम्मेलन (इन्डो नेपाल इकोनोमिक कन्फ्रेन्स) लाई सम्बोधन गरेकी थिइन । सो सम्बोधनमा उनले नेपालले भारततर्फबाट अतिरिक्त हवाई रुटका लागि अनुरोध गरेको बताएकी थिइन् ।
मन्त्री डा. राणाले पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको पूर्ण क्षमतामा सञ्चालनका लागि भारतसँग पनि सहयोगको अपेक्षा गरिएको भन्दै भारतीय एयरलाइन्स अपरेटरहरुसँग थप उडानका लागि आग्रह पनि गरेकी थिइन् । उनले नेपाल भारत आर्थिक सम्बन्धको विस्तृत चर्चा गर्दै नेपालमा लगानीका लागि भारतीय लगानीकर्ताहरुलाई आग्रह पनि गरेकी थिइन् ।
यसअघि मन्त्री डा. राणा गत मंसिर २२ मा युरोप गएकी थिइन् । उनको यो भ्रमणको मुख्य उद्देश्य नेदरल्याण्डको हेगमा अवस्थित अन्तर्राष्ट्रिय अदालतमा नेपालका तर्फबाट जलवायु न्याय माग गर्नु रहेको थियो । परराष्ट्रमन्त्री भारत गएका कारण त्यहाँ उनले आफ्ना समकक्षी एस जयशंकर तथा सरकारी अधिकारीहरूसँग भेट्ने चर्चा चलेको थियो ।
तर मन्त्री राणाको त्यस्तो कुनै औपचारिक भेटवार्ता भने भएन । यो भ्रमण स्वास्थ्य उपचारको फलोअपका लागि मात्र भएको उनका प्रेस सल्लाहकार एकराज पाठकले बताएका छन् । ‘खासमा उहाँ उपचारका लागि यसअघि नै जापान जानुपर्ने थियो । उहाँले उपचार गराउनु भएका जापानी चिकित्सकले डिसेम्बरको पहिलो हप्ता समय दिनु भएको थियो,’ उनले थपे, ‘तर त्यसबेला प्रधानमन्त्री ज्यूको चीन भ्रमणको प्रतिनिधिमण्डलमा जानुपर्ने भएकाले जापान जान पाउनु भएन । त्यसपछि फलो अपका लागि मन्त्रीज्यू नयाँ दिल्ली जानु भएको हो ।’
प्रतिक्रिया