मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुद्दा दर्ता गर्न रवि लामिछानेलाई अदालतमा उपस्थित गराइयो

मुद्दा दर्ता गर्न रवि लामिछानेलाई अदालतमा उपस्थित गराइयो

न्यूजस्टोरी

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ । लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा अभियोगपत्र दर्ता गर्न जिल्ला सरकारी वकिलको कार्यालयले अदालत उपस्थित गराएको हो ।

अहिले कास्की जिल्ला अदालत क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । रविविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण गरी ३ वटा अभियोग दर्ता गर्ने तयारी सरकारी वकिलको छ । पूरक जाहेरी लिएपछि पक्राउ परेका र हाल थुनामा रहेका गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक लामिछाने, नेटवर्कका सञ्चालक एवं पूर्व डीआईजी छविलाल जोशी बञ्जाडे, लीला पछाई, रामबहादुर खनाल र कृष्णबहादुर गुरुङसहित ५१ जनाविरुद्ध आइतबार अभियोग दर्ताको तयारी छ ।

प्रहरीले सरकारी वकिल कार्यालयमा बुझाएको मिसिल प्रतिवेदनअनुसार ५१ जनाविरुद्ध कैद सजायसँगै १ अर्ब ५५ करोड बिगो माग दाबी गरिएको छ । शुक्रबार भने सोही प्रकरणमा जीबी भन्ने गितेन्द्रबाबु राईसहित १९ जनाविरुद्ध थप कसुरमा सजायको माग गर्दै जिल्ला अदालतमा पूरक अभियोगपत्र दायर गरिएको छ । जिल्ला सरकारी वकिल कार्यालय कास्कीकी प्रमुख कमला काफ्लेका अनुसार गत वर्ष सहकारी ठगीको कसुरमा मात्रै मुद्दा दर्ता भएकामा शुक्रबार संगठित अपराधको कसुर पनि थप गरेर उनीहरूविरुद्ध अभियोगपत्र दर्ता गरिएको हो । यसअघि जीबीसहित १९ जनाविरुद्ध सहकारी ठगीमा मात्रै मुद्दा चलाइएको थियो ।