मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रवि लामिछानेलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

रवि लामिछानेलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

न्यूजस्टोरी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई अदालतले थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ । आज (बिहीबार) कास्की जिल्ला अदालतले प्रहरीलाई अनुसन्धानका लागि थप पाँच दिनको समय दिएको हो ।

गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेको पछिल्लो पटक थपिएको ४ दिनको म्याद सकिएपछि बिहीबार कास्की जिल्ला अदालतमा उपस्थित गराइएको थियो । अदालतले अनुसन्धानका लागि पाँच दिन म्याद थप दिएको जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछानेसहितलाई सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान भइरहेको छ । उनलाई कास्कीसहित रुपन्देही, काठमाडौं, चितवन र पर्सासमेत लगेर बयान लिइएको थियो ।

कास्कीको सूर्यदर्शन सहकारी, काठमाडौंको स्वर्णलक्ष्मी सहकारी, चितवनको सहारा सहकारी, रुपन्देहीको सुप्रिम सहकारी र पर्साको सानोपाइला सहकारीको रकम गैरकानूनी तवरले गोर्खा मिडिया नेटवर्कमा ल्याएर अपचलन गरेको आरोप रविमाथि छ । यी सहकारीबाट गोर्खा मिडियामा ६५ करोड ५४ लाख रूपैयाँ गएको देखिन्छ । गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रविलाई सहकारीको रकम अपचलनमा मतियार बनाइएको छ ।