मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रविलाई पोखरा पुर्‍याइयो : रास्वपाको प्रदर्शन, ठूलो संख्यामा प्रहरी परिचालन

रविलाई पोखरा पुर्‍याइयो : रास्वपाको प्रदर्शन, ठूलो संख्यामा प्रहरी परिचालन

न्यूजस्टोरी

काठमाडौं । सहकारीको रकम अपचलन आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई काठमाडौंबाट पोखरा पुर्‍याइएको छ । रवि चढेको बुद्ध एयरको जहाज केही समय अघि मात्र पोखरामा अवतरण भएको हो ।

बुधबार बिहान मात्र रविलाई पर्साबाट काठमाडौं ल्याइएको थियो । त्यसपछि उनलाई पोखरातर्फ लगिएको हो । रविलाई पोखरा पुर्‍याएसँगै रास्वपाका कार्यकर्ताहरूले पोखराकै पृथ्वी चोकमा प्रदर्शन गरिरहेका छन् । नारा जुलुस गरिरहेका उनीहरुले प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग गरेका छन् । पोखरामा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

पृथ्वीचोकमा भइरहेको प्रदर्शनमा सहभागीहरूले ‘मानवअधिकार कायम गर, मानवअधिकार उल्लंघन गर्न पाइँदैन, आईजीपीलाई अनुसन्धान गर, भ्रष्ट सरकार मुर्दावाद, सहकारी पीडितलाई न्याय दे’ लगायतका नाराहरू लगाइरहेका छन् । रविलाई पोखराबाट बयानका लागि वीरगञ्ज लगिएको थियो । मंगलबार एक दिनमै बयान सकेर आज पोखरा फर्काइएको हो ।