काठमाडौं । सशस्त्र प्रहरी बल (एपीएफ) नेपालको २९ नम्बर गण हेक्वा ज्वालामाई दाङका तत्कालीन सशस्त्र प्रहरी निरीक्षक छविलाल कुँवरविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ । शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र बनाएको आरोपमा उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार उनले २९ नम्बर गण दाङबाट केही समय अगाडि राजीनामा दिएका थिए। अनुसन्धानका क्रममा उनले माध्यमिक शिक्षा परिषद, उत्तर प्रदेश (बोर्ड अफ हाइस्कूल एन्ड इन्टरमिडियट एजुकेसन, यूपी) अन्तर्गत हाइस्कूल तहको परीक्षा उत्तीर्ण गरेको भनी झुट्टा शैक्षिक प्रमाणपत्र पेश गरेका थिए । उनले राष्ट्रसेवक पदमा प्रवेश गरी बढुवा भएको पाइएको आयोगको दाबी छ । आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजायको मागदाबी गरेको छ ।


प्रतिक्रिया