मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजतन्त्र कुर्सीमा बसेपछि निरंकुश हुन्छ र प्रजातन्त्रमाथि धावा बोल्छ – प्रदीप ज्ञवाली

राजतन्त्र कुर्सीमा बसेपछि निरंकुश हुन्छ र प्रजातन्त्रमाथि धावा बोल्छ – प्रदीप ज्ञवाली

न्यूजस्टोरी

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले गणतन्त्र हरेक किसिमले उत्तम व्यवस्था भएको बताएका छन् । विगतमा आन्दोलनपछि पनि राजतन्त्रलाई ठाउँ दिँदा प्रजातन्त्रमाथि धावा बोलेको र निरंकुश भएको उनको भनाइ छ । ७४ औं मुक्ति दिवसका अवसरमा रामप्रसाद राई स्मृति प्रतिष्ठानले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा एमाले उपमहासचिव ज्ञवालीले राजतन्त्र र प्रजातन्त्र सँगसँगै जान नसक्ने बताएका हुन् ।

‘नेपाली इतिहासले के देखायो भने राजतन्त्र र प्रजातन्त्र सँगसँगै जान सक्ने रहेनछन् । दुई पटक नेपाली जनताले त्यति उदार मनले भागेर दिल्ली पुगेका राजालाई फर्काएर गद्दीमा राख्दा पनि र सम्पूर्ण रूपले पराजित हुने अवस्थामा भइहाल्यो नि त तिमीलाई सम्मान हुने भयो । मदन भण्डारीको भाषामा भन्दा सेतो हात्ती पाल्न अलि बढी खर्च लाग्ला, केही बात छैन तर जनताको अधिकारमाथि गिद्देदृष्टि नलगाइयोस् है भनेर त्यसरी सम्झौता गर्दा पनि पुरानै अवस्थामा उहाँ पुगिसकेपछि हामी यो निष्कर्षमा पुगेका हौँ कि अब राजतन्त्र र प्रजातन्त्र सँगसँगै अघि बढ्न सक्दैनन्,’ ज्ञवालीले भने, ‘राजतन्त्रका अनिवार्य नियति भनेकै कुर्सीमा बसिसकेपछि ऊ निरंकुश हुन खोज्छ, प्रजातन्त्रमाथि धावा बोल्न खोज्छ, एक न एकदिन उसले प्रजातन्त्र डस्छ भन्ने निष्कर्षका साथ नै हामी गणतन्त्रमा पुगेका हौँ र यसमा हामीलाई गर्व छ ।’

जनताले चाहेका सबै कुरा पूरा गर्न नसके पनि गणतन्त्र उत्तम व्यवस्था भएको ज्ञवालीको भनाइ थियो । ‘गणतन्त्रले भनेजस्तो गरी डेलिभरी दिन नसकेको होला । कतिपय पात्रहरूको कारणले जस्तो शासन व्यवस्था हुनुपर्दथ्यो, त्यो हुन नसकेको होला । जनताका अपेक्षाअनुसारका काम हुन नसकेका होलान् तर वास्तवमा गणतन्त्र हरेक किसिमले उत्तम व्यवस्था हो र यसलाई सफल बनाउनु, रक्षा गर्नु हामी सबैको कर्तव्य हो,’ उनले भने ।

उपमहासचिव ज्ञवालीले क्रान्तिको लाभ जनताले पाउने सुनिश्चिचतासहित सरकारका काम-कारबाही अघि बढाउन जरुरी रहेको बताए ।