झापा । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशलाई स्थिरता र विकासको बाटोमा लैजान कांग्रेस–एमाले मिल्नु पर्ने अवस्था आएको बताएका छन् । धाक धक्कु लगाउने र स्टन्टबाजीले देश नचल्ने भएकाले ठूला दल मिल्नु परेको उनले बताएका छन् । गृह जिल्ला झापाको बेलडाँगी खानेपानी आयोजना उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले सिङ नपलाएका बाच्छाले समेत एमालेलाई घ्याच्च–घ्याच्च हान्ने अवस्था आएपछि प्रमुख दुई दल मिलेर सरकार बनाउनु परेको बताएका हुन् ।
‘हामी नै सरकारमा किन आउनु पर्यो ? किन कांग्रेस र एमाले मिल्नु पर्यो ? दुई वटा पार्टी नमिल्दा, अस्वस्थ गतिविधि भए । सरकारले काम नगर्ने धाक धक्कु लगाउने चल्यो, बाच्छाहरूले पनि हान्ने अवस्था आयो, हान्दा केही भइहाल्ने त होइन । सिङ नपलाएका मुडुला बाच्छाले हानेर केही हुने त थिएन,’ ओलीले भने, ‘देश बनाउने कुनै तरिका सोच देखिएन, अस्थिरता, अन्योल र स्टन्टबाजीबाट देश बन्दैनथ्यो ।’
ओलीले सिङ नपलाएको बाच्छा भनेर नयाँ दलप्रति संकेत गरेका हुन् । ओलीले हिजो झापामै आयोजित कार्यक्रममा सरकार सञ्चालन गर्नु सहकारी ठगे जस्तो नभएको भन्दै कटाक्ष गरेका थिए । ओलीले अबको १८ महिनामा देशलाई विकासको बाटोमा लैजाने उल्लेख गरे ।
‘देश बनाउन स्थिरता र स्थायित्व चाहिन्छ, सुद्दढ सरकार बनाएका छौं, यसले काम अगाडि बढाउँछु । सहमतिअनुसार अबको १८-१९ महिना मैले देश विकासको बाटोलाई अगाडि बढाउँछु, अस्तव्यस्त भएको थियो त्यसलाई सम्हाल्छु ।’ आफू झापा आउँदा भएको विरोधप्रति लक्षित गर्दै ओलीले भने, ‘यहाँ भएको विकास देखेर कतिपयलाई भतभत पोलेको छ ।’


प्रतिक्रिया