काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका नेता एवं सांसद विमलेन्द्र निधिले राष्ट्रियस्तरमा छलफल नगरी बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) सम्झौतामा हस्ताक्षर गर्न नहुने बताएका छन् । आज (शुक्रबार) जनकपुरमा सञ्चारकर्मीहरुसँगको कुराकानीका क्रममा नेता निधिले हतारमा सम्झौता गरेर पछुताउनु भन्दा विस्तृत रुपमा छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्ने बताएका हुन् ।
उनले बीआरआई चिनियाँ नीति रहेको र नेपालले आसन्न प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा के गर्छ भन्ने विषय चासोका साथ हेरिएको उल्लेख गरेका छन् । उनले नेपाली कांग्रेसले चीनबाट बीआरआई प्रोजेक्टअन्तर्गत लिने कुनै पनि विकासका कुराहरुमा अनुदान मात्रै लिने नीति अंगालेको स्पष्ट पारेका छन् । बीआरआईअन्तर्गत ऋण लिन आफूहरुले नचाहेको बताए । उनले बिआरआई प्रोजेक्टमा व्यापक, विस्तृत रुपमा राष्ट्रियस्तरमा छलफल हुनु जरुरी रहेको उल्लेख गरे ।
उनले थपे, ‘बीआरआई चिनियाँ पोलिसी हो । त्योअन्तर्गत हाम्रो स्ट्याण्ड चर्चाको विषय छ । प्रधानमन्त्री ओलीको भ्रमणको विषयमा के–के कुरा सही गर्ने ? के–के कुरा सम्झौताहरु गर्ने भन्ने विषयमा । नेपाली कांग्रेसको शुरुदेखि नै आधिकारिक विषय के छ भने चीनबाट हामीले बीआरआई प्रोजेक्टअन्तर्गत लिने कुनै पनि विकासका कुराहरुमा अनुदान मात्रै लिन्छौँ । ऋणमा हामी जाँदैनौं । बीआरआई प्रोजेक्टको बारेमा हाम्रो धारणा के हो भने यसको बारेमा व्यापक, विस्तृत छलफल हुनुपर्छ, राष्ट्रियस्तरमा छलफल हुनुपर्छ ।’


प्रतिक्रिया