काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अस्थिरता सिर्जना गर्ने उद्देश्यअनुरूप प्रायोजित रूपमा सिर्जित षडयन्त्र र भ्रमबाट समाज र राजनीतिलाई मुक्त गर्नुपर्ने बताएका छन् । देश बनाउनका लागि एमालेले गरेका राम्रा काममा साथ दिन आग्रह गरेका छन् ।
उनले ९ प्रश्न उठाउँदै भनेका छन्, ‘यदी यसो गर्नु गलत लाग्छ भने नेकपा (एमाले) को विरोध जायज हुन सक्छ । होइन भने देश बनाउनका लागि उसले गरेका राम्रा काममा साथ देऊ । काम गर्नेलाई हौसला देऊ । कमीकमजोरी भए सुझाव देऊ । विकल्प भए विकल्प देऊ । अस्थिरता सिर्जना गर्ने उद्देश्य अनुरुप प्रायोजित रुपमा सिर्जित षड्यन्त्र र भ्रमबाट समाज र राजनीतिलाई मुक्त गरौं ।’
उनले चिनियाँ परियोजना बीआरआईलाई संकेत गर्दै नेपालको विकासका लागि छिमेकी मित्र राष्ट्रहरूबाट सहुलीयतपूर्ण ऋण सहायता लिनु के गलत हो ? भन्दै प्रश्न गरेका छन् । बीआरआईको बिषयलाई लिएर सत्तारुढ दल एमाले र कांग्रेसबीच मतभेद देखिएको बेलामा उनले यस्तो प्रश्न अघि सारेका हुन् ।
यी हुन् महासचिव पोखरेलले उठाएका ९ प्रश्न
1-नेकपा(एमाले) र त्यसको नेतृत्वका विरुद्धमा षडयन्त्रपूर्ण कुप्रचार किन र कस्को प्रायोजनमा भइरहेको छ ?
2-के नेकपा(एमाले)ले स्वाधीनता, स्वभिमान र राष्ट्रिय हितका पक्षमा अडान लिनु र नेपालको गुमेको भूभाग समेटेर नक्सा प्रकाशित गर्नु अपराध हो ?
3-नेपालको विकास र समृद्धिका लागि मेघा परियोजनाहरु अघि वढाउनु, सुरुङ, रेल र पानी जहाजको योजना अघिसार्नु गलत हो ?
4-नेपालको विकासका लागि छिमेकी मित्र राष्ट्रहरुवाट सहुलितपूर्ण ऋण सहायता लिनु के गलत हो ?
5-नेपाललाई भूपरिवेष्ठित मुलुकवाट भूजडित मुलुकमा वदल्नका लागि उत्तरी छिमेकी चिनसंग व्यापार र पारवाहन सम्झौता गर्नु गलत हो ?
6-के भारतको कलकत्ता पोर्टको विकल्पका रुपमा भारतवाट थप वन्दरगाहा प्रयोगको अधिकार सुनिश्चित गर्नु गलत हो ?
7-के नेपालले भैरहवा गौतमवुद्ध अन्तराष्ट्रिय विमानस्थलका लागि भारतसंग अनुकुल एअररुटको माग गर्नु गलत हो ?
8-के नेपालले आफूलाई स्वाधिन राष्ट्रकारुपमा समनताका आधारमा व्यवहारको माग गर्नु गलत हो ?
9-के राष्ट्रको विकास र समृद्धिका लागि सहुलितपूर्ण ऋण सहायता परिचालन गर्नु गलत हो ?


प्रतिक्रिया