मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेसका कार्यकर्ताले उम्मेदवार अपहरण गरेको भन्दै निर्वाचन आयोगमा रास्वपाको उजुरी 

कांग्रेसका कार्यकर्ताले उम्मेदवार अपहरण गरेको भन्दै निर्वाचन आयोगमा रास्वपाको उजुरी 

न्यूजस्टोरी

काठमाडौं । हुम्लाको सर्केगाड गाउँपालिकामा उपाध्यक्ष पदका लागि उम्मेदावारी दिने तयारी गरेका आफ्ना उम्मेदवारलाई अपहरण शैलीमा लछारपछार पार्दै अज्ञात स्थलतर्फ लगिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन आयोगमा उजुरी दिएको छ ।

पार्टीका तर्फबाट कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले दिएको उजुरीमा सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदमा उम्मेदवारी दिने तयारी गरेकी रास्वपाकी सुजता थापा र उनका श्रीमानलाई शनिबार दिउँसो ४०/५० जनाको समूहले अपहरण शैलीमा अज्ञात स्थलतिर लगेको उल्लेख छ ।

यो कुरा थाहा भएलगतै हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयलाई जानकारी गराइएको उनले बताएका छन् । यसअघि पनि अन्य व्यक्तिले यस घटनाको सूचना दिएकोले आवश्यक खोजतलास उद्धारको लागि प्रहरी परिचालन गरिसकेको जवाफ प्रजिअले दिएका थिए ।

‘रास्वपाका उम्मेवार र उहाँको परिवारलाई त्यसरी अपहरण शैलीका अज्ञात स्थलमा लछारपछार गरी लगी रास्वपाबाट उम्मेदवारी नदिन धम्क्याउँदै मानसिक दबाब दिने र उम्मेदवारी दिएमा जे पनि हुनसक्नेसम्मको यातना दिइएको पाइएको र त्यस पश्चात् निज सुजाता थापा र उहाँ परिवार मानसिक तनावमा देखिएको र हाल असुरक्षाका कारण उम्मेदवारी दिन नसकिने मनस्थितिमा पुग्नुभएको पाइएको छ’, रास्वपाले निर्वाचन आयोगमा दिएको उजुरीमा भनिएको छ ।

स्थानीय स्रोतलाई उद्धृत गर्दै बुर्लाकोटीले उक्त कार्यमा स्थानीय नेपाली कांग्रेसका सदस्यहरू संलग्न रहेको सूचना प्राप्त भएको बताएका छन् । त्यसैगरी हुम्ला सर्केगाडमा उम्मेदवार तय गर्न र प्रचारप्रसारमा खटिएका राष्ट्रिय स्वतन्त्र पार्टीका केही सदस्यमाथि समेत दुर्व्यवहारका साथै लछारपछार र कुटपिटसमेत भएको बुर्लाकोटीले लेखेका छन् ।